मामिला समितिकाे छड्के अनुगमन : कार्यालय समयमै पुग्दैनन् कर्मचारी



सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीहरु समयमै कार्यालय नजाने गरेको पाइएको छ । मंगलबार कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिले मन्त्रालयमा गरेको छड्के अनुगमनमा अधिकांश कर्मचारीहरु समयमै कार्यालय नपुग्ने गरेको पाइएको हो ।

समितिकी सभापती प्रदेशसभा सदस्य कल्याणी खड्काको नेतृत्वमा भएको छड्के अनुगमनमा कार्यालयमा कार्यरत २६ जना कर्मचारीमा दर्जन बढी कर्मचारीहरु कार्यालय समयभन्दा ढिला पुगेका थिए ।

अनुगमनका क्रममा बोल्दै समितिकी सभापति खड्काले मन्त्रालयमा कार्यरत कर्मचारीहरु समय पालक भएर सेवाप्रवाहमा जुट्नुपर्ने बताईन । कर्मचारीको संख्या थोरै हुनु त्यसमा पनि समयको ख्याल नगर्नाले सेवाप्रवाहमा समस्या हुने उनको भनाई छ ।

खड्काले मन्त्रालयका सचिव धु्रव घिमिरेलाई नीति निर्माणमा महत्वपूर्ण मानिएको मन्त्रालयमा कर्मचारीको लापरवाहीले सेवाग्राहीमा नराम्रो सन्देश जाने भन्दै व्यवस्थित भएर कार्यालय चलाउन निर्देश दिएकी थिइन् ।

समितिका सदस्य रनसिंह परियारले राज्यको स्थायी सरकार मानिने कर्मचारी संयत्र व्यवस्थित र जिम्मेवार भएर चल्नुपर्ने बताए । राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै सेवा प्रवाहका क्रममा आइपर्ने व्यवधान समधानमा समिति र संसद कर्मचारीको साथमा रहेको परियारले बताए ।

यस्तै अर्का सदस्य महेन्द्र केशीले राज्यमा राजनीतिक र प्रशासनिक संयत्रहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै यो वा त्यो बहानामा सेवाग्राहीले समस्या भोग्न नहुने बताए । अनुगमनमा समितका पदाधिकारी र सचिव तथा पत्रकारहरुको सहभागिता रहेको थियो । मन्त्रालयमा कर्मचारीको कुल दरवन्दी ३८ रहेकोमा हाल २६ जना कर्मचारी कार्यरत छन् ।

सरकारलाई प्रदेशसभाप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने क्षेत्राधिकार समितिलाई रहन्छ ।

प्रदेशसभा नियमावलीको नियम १५४ बमोजिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश लोक सेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने अधिकारलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया