कालिकाेट । साउन १९ राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालीकोटका ३ सहित १४ नेपाली बेपत्ता भए । तीमध्ये कालीकोटको खाडाचक्रका तीन जनाको शव भेटिएको छ । गौरीकुण्डमा होटल बगाउँदा बेपत्ता भएका जुम्लाका ११ जना अझै फेला परेका छैनन् ।

केदारनाथ क्षेत्रमा नेपालीहरू दुर्घटनामा परेको यो पहिलो पटक भने होइन । बर्सेर्नेि मानवीय क्षति भए पनि जोखिमपूर्ण मानिएको केदारनाथमा मजदुरी गर्न जानेको संख्या भने बढिरहेको छ । ‘काम र ठाउँ जोखिमपूर्ण भए पनि भारतका अन्य ठाउँभन्दा कमाइ राम्रो छ,’ पताला–४ का कमल बमले टेलिफोनमा भने, ‘अन्यत्र एक वर्षमा हुने आम्दानी यहाँ महिना दिनमै हुन्छ ।’
कमाइ राम्रो हुने भएपछि कालीकोटका बासिन्दाको केदारनाथतिर आकर्षण बढेको हो । यहाँबाट स्थानीय प्रशासनको सिफारिस बनाएरै गएका छन् । केदारनाथ जान त्यहाँको प्रशासनले कालीकोटका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरेको छ । ०७९ चैत्र १० गतेदेखि जिल्ला प्रशासनबाट झन्डै ७ हजार जना सिफारिस लिएर भारत गएको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार अहिलेसम्म ६ हजार ९ सय ५२ जनाले भारत जान सिफारिस लगेका छन् ।

पहिले बिनारोकतोक केदारनाथ जान पाइने भए पनि गत वर्ष कालीकोटका एक जनाले तीर्थयात्रुलाई दुर्व्यवहार गरेपछि भारतीय स्थानीय प्रशासनले कालीकोटका बासिन्दालाई केदारनाथ आउन जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको हो ।
भारतमा चार धाममध्ये एक मानिने केदारनाथ मन्दिरमा दैनिक ३० हजार बढी तीर्थयात्री पुग्ने गरेको मजदुरीका लागि वैशाखमा गएका सान्नित्रिवेणी–३ का जयराम देवकोटाले टेलिफोनमा बताए । कर्णालीका झन्डै २० हजार जना केदारनाथमा काम गर्न आएको उनको अनुमान छ । तर, कालीकोटबाहेक अन्य जिल्लाका बासिन्दालाई भने केदारनाथ जान सिफारिसको आवश्यक छैन ।
केदारनाथ तीर्थयात्रामा आउने यात्रुलाई मन्दिरसम्म पुर्याइदिएबापत दैनिक ५ देखि ४० हजारसम्म कमाइ हुने भएकाले धेरैको प्रमुख गन्तव्य केदारनाथ हुने गरेको उनले बताए । देवकोटा गत चैतदेखि केदारनाथमा छन् ।
‘धनाढ्यले कन्डी (पिठ्यु) मा बोकेर मन्दिर र गौरीकुण्ड पुर्याइदिएबापत ४० हजार रुपैयाँसम्म दिन्छन्,’ उनले भने, ‘त्यस्तो बोक्ने काम थोरैले मात्र पाउँछन् ।’ उनका अनुसार केदारनाथमा कालीकोट, जुम्ला, हुम्ला, बाजुरा, दैलेख, जाजरकोट र सुर्खेतका बासिन्दा बढी छन् ।

वर्षौदेखि बिनारोकतोक ज्यालामजदुरी गर्न भारत जाने गरेका पलाता–२ का नवराज प्याकुरेलले वैशाखमा मान्मस्थित जिल्ला प्रशासनबाट सिफारिस लिएर केदारनाथ गएका छन् । ‘कमाइ राम्रो हुन्छ भनेर यहाँ आउने धेरै छन्,’ सामाजिक सञ्जालमार्फत भेटिएका उनले भने, ‘असार लागेपछि वर्षाले कमाइ त्यति भएको छैन ।’ चैतदेखि असोजसम्म केदारनाथ जाने मौसम हो । मध्य बर्खामा अन्यत्र पनि यातायात प्रभावित हुने कारणले यहाँ आउने तीर्थालु कम हुने गरेको प्याकुरेलले बताए ।
२५ वर्षदेखि भारत जान थालेका खाडाचक्र–५ मोटेलाका अलि विश्वकर्माका अनुसार वैशाखदेखि असोजसम्म केदारनाथमा तीर्थालु आउने भएकाले राम्रो कमाइका लागि त्यहाँ जाने गरेको बताए । ‘भारतको प्रमुख तीर्थस्थल भएकाले दैनिक हजारौं भक्तजन मन्दिर दर्शन गर्न आउँछन्,’ उनले भने, ‘हिँड्न नसक्ने अशक्त, वृद्धावृद्धा र बालबालिकालाई केदारनाथको उकालोमा बोकेर लैजाने काम पाइने हुँदा कमाइ राम्रो हुन्छ ।’ उनले गत वर्ष झन्डै २ लाख भारतीय रुपैयाँ कमाइ गरेका थिए ।
केदारनाथमा तीर्थयात्रुलाई तीन प्रकारका साधन डन्डी (चार जनाले बोक्ने डोली, कन्डी डोको काटेर एक जनाले बोक्ने) र घोडामार्फत मन्दिर पुर्याउने गरिन्छ । २४ किमि उकालो यात्रा गराएर ओरालो झारेबापत दैनिक १० देखि ४० हजारसम्म कमाइ हुने गत वर्ष मजदुरी गर्न गएका नरहरिनाथ–३ का पौरख विष्टले बताए ।
०७० सालमा केदारनाथमा ठूलो बाढीपहिरोबाट झन्डै डेढ सय जनाको मृत्यु भएको थियो । तीमध्ये नेपालीको संख्या पनि धेरै थियो । केदारनाथ उक्लिने बाटो भीरमा जोखिमपूर्ण छ । कामको खोजीमा गएका व्यक्ति खुला ठाउँ छाप्रो र टेन्ट हालेर बस्छन् । दुर्घटना र बाढीपहिरोबाट बर्सेर्नि ४र५ जना नेपालीको ज्यान जाने गरेको प्याकुरेलले सुनाए ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले प्रशासनले व्यक्तिगत रोजगारीको सिलसिलामा भारत जानेको चालचलन राम्रो भएको भन्दै सिफारिस दिने गरेको छ । वर्षौंदेखि बिनारोकतोक भारत–नेपाल गर्दै आएका कालीकोटका बासिन्दाले एक वर्षदेखि मजदुरीको प्रमुख गन्तव्य केदारनाथ जान सास्ती खेप्दै आएको उनको भनाइ छ । (याे समाचार तुलाराम पण्डेकाे बाइलाइनमा कान्तिपुर दैनिकमा प्रकाशित छ ।)

नेपाल कर्म । ३० श्रावण २०८०, मंगलवार ०७:४५