कर्णाली प्रदेशसभामा सरकारको खोजी

सुर्खेत । कर्णाली प्रदेशसभामा सरकारको खोजी भएको छ। सोमबार बसेको प्रदेश सभाको ३०औँ बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारको खोजी गरेको हो।



एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकार कहाँ छ भन्दै प्रश्न गरेका हुन्। उनले प्रदेश सरकार विपद्को समयमा अभिलेखमा मात्र सीमित रहेको बताए। ‘म आज यहाँ सरकारको खोजी गर्न आएको छु,’ उनले भने, ‘अभिलेखमा सरकार त होला व्यवहारमा खै?’

कँडेलले संसदमा जनताका जनजीविकाका विषय छलफल गर्नुपर्ने भएपनि त्यस्तो नभएको बताए।

‘मान्छेलाई अनुभूति गराउनका लागि कहिले काहिँ घटना घट्नुपर्ने रहेछ। अविरल वर्षा भइरहेको छ,’ उनले भने, ‘राजधानीमा सबै मन्त्रीदेखि सांसदसम्म छन्। तर, कांक्रेविहारदेखि तल्तिरको भाग डुबानमा छ। समस्या समाधानका लागि सरकारको ध्यान खै?’

कँडेलले प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयकै कारणले एरपोर्ट डुबानमा परेको आरोप लगाए। उनले प्रश्न गरे, ‘के सरकार त्यसमा बेखबर छ? सरकार कहाँ छ? अभिलेखमा सरकार भएपनि जनताको लागि सरकार छैन।’

कँडेलले जनताको पक्षमा रहेर सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप समेत लगाएका छन्। उनले बाढी पहिरो, डुबान र नागरिक उड्ययन प्राधिकरणका कारण कर्णालीका हिमाली जिल्लाले भोग्नुपरेको पीडाबारे सरकारको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया