वर्षातका कारण छिन्चु–जाजरकोट सडक आंशिक रुपमा अवरुद्ध

सुर्खेत । गएरातीदेखि परेको वर्षातका कारण छिन्चु जाजरकोट सडक आंशिक रुपमा अवरुद्ध भएको छ । गुर्भाकोट नगरपालिका–९ पोखरेमा ठाडो खोलामा बाढीसँगै लेदो आउँदा छिनछिनमा सडक अवरुद्ध हुने गरेको हो ।



‘लामो समयसम्म सडक अवरुद्ध भने भएको छैन, खोलामा ग्रेगानसहित लेदो आउँदा समस्या भइरहेको छ,’ ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख (प्रहरी निरीक्षक) रमेश राईले भने, ‘गुर्भाकोट नगरपालिकाको डोजर स्ट्याण्डबाइ रहेकाले गाडीको चाप हुने वित्तिकै लेदो हटाएर सडक सुचारु गरिरहेका छौं ।’

वर्षात नरोकिएका कारण रत्न राजमार्गको छिन्चु र बबईमा सडक डिभिजनमा दुई ओटा डोजर राखिएको उनले बताए । जाजरकोट खण्डको पोखरे बाहेक रत्न राजमार्गमा वर्षातले कुनै असर गरेको नगरेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले वर्षातका कारण जिल्लाभर अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ । सुर्खेत–दैलेख सडक र कर्णाली राजमार्गमा कुनै अवरोध नभएको पनि कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया