सुर्खेतमा डेंगीका विरामी बढे, संक्रमितको संख्या २२ पुग्याे

सुर्खेत । डेंगी रोगको महामारी प्रायः तराईका जिल्लाहरुमा देखिने गर्दछ । पछिल्लो वर्षहरुमा यसको प्रभाव भित्रि मधेश जिल्लाहरुमा छिटपुट देखिने डेंगी रोग पहाडहुँदै हिमाली जिल्लाहरुमा पुगेको छ । सडक सञ्जाल पुगेसँगै सवारी साधानको आवतजावत र बदलिदो मौसमका कारण कर्णालीका प्रयाः जिल्लाहरुमा डेंगीको संक्रमण फैलिदो क्रममा छ ।



विगतका वर्षहरुको तुलनामा क्रमिक रुपमा कर्णालीका जिल्लामा कम संख्याका डेंगीका संक्रमितहरु देखिन थालेका छन् । साउन अन्तिम सातासम्म संक्रमितको संख्या २२ पुगेको छ । यीमध्य धेरै अर्थात् १३ जना सुर्खेतका हुन् ।

चालु आर्थिक वर्षको शुरुवातसँगै जुम्लामा चार, रुकुमपश्चिममा दुई, दैलेख, कालिकोट, सल्यानमा एक÷एक जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेल बताउँछन् ।

‘डेंगीको बढी जोखिम देखिने साउन, भदौ र असोज भएकाले यसको संक्रमण ह्वात्तै बढ्ने खतरा देखिन्छ,’ कँडेल भन्छन्, ‘कर्णालीमा डेंगी नियन्त्रणको लागि गत वर्षदेखि चलाएको खोज र नष्ट गर अभियानपछि यसबाट सकारात्मक प्रभाव परेकाले अब पालिकाहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।’

निर्देशनालयले अभियान अन्तरगत लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान चलाइरहेको छ । गत वर्ष कर्णालीमा एक हजार ६९५ जनामा डेंगीको संक्रमण भएको थियो । यीमध्य एक हजार पाँचसय ५३ जना सुर्खेत र बाँकी अन्य जिल्लाका हुन् । डेंगीबाट हालसम्म कर्णालीमा एक जनाको मृत्यु भएको छ ।

सचेतनामूलक अभियान थालियो
सुर्खेतसहित आसपासका जिल्लाहरुमा डेंगीको संक्रमण देखिन थालेपछि निर्देशनालयले लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान थालेको छ । मातहतका निकायलाई टोल–टोलमा पुगेर सचेतना फैलाउने, एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने भएकाले कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि घर आसपासमा पानी जम्ने ठाउँ राख्नुहुँदैन भन्ने जानकारी जनस्तरमा पु¥याउन थालिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत कँडेल बताउँछन् ।

डेंगी सुरुवा रोग हैन तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुने कँडेल बताउँछन् । उनले  डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो रहेकाे जानकारी दिए ।

शनिवार मात्रै निर्देशनालयको अगुवाइमा वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला निकायहरुले वीरेन्द्रनगरमा सचेतनामूलक कार्यक्रम गरेका छन् । ‘डेंगीको नियन्त्रण एक्लै निर्देशनालयले मात्रै गर्न सक्दैन,’ कँडेल भन्छन्, ‘यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय पालिकाहरुको भूमिका बढी रहने भएकाले समन्वय गरिरहेका छौं ।’

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगी पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

कसरी गरिन्छ उपचार ?

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ ।

डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन । डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । ०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

तपाईको प्रतिक्रिया