एजेन्सी । टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ। दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो।

पछिल्लो वर्षहरूमा विश्वका धनाढ्यहरूको आकर्षक गन्तव्य बनिरहेको अन्ताल्यालाई टर्की सरकारले पुनःनिर्माण र बिस्तार गरिरहेको हो। अन्ताल्या अन्तर्राष्ट्रिय विमानस्थलले अहिले ४ करोड यात्रुलाई सेवा दिइरहेको छ भने पुनःनिर्माण पछि यो दोब्बर हुनेछ। निर्माण सम्पन्न भइसकेपछि वार्षिक ८ करोड यात्रुलाई सेवा दिन सक्षम हुनेछ। जनवरी २०२२ मा शुरु भएको पुनः निर्माण कार्य जनवरी २०२५ सम्ममा सम्पन्न हुनेछ।

परियोजनाको पहिलो चरणमा नयाँ रनवे, टर्मिनल भवन र कार्गो ह्याण्डलिङ सुविधाको निर्माण गरिने एयरपोर्ट बिस्तारको नेतृत्व गरिरहेको कम्पनी टाभ कन्स्ट्रक्शनका परियोजना निर्देशक एर्डोगान काराबाकाकले बताए। टर्कीलाई युरोप र एसियासँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने उनको भनाइ छ।

यो परियोजनालाई आंशिक रूपमा एशियाली पूर्वाधार लगानी बैंकले १५३.६ मिलियन अमेरिकी डलर ऋण दिएको छ। टर्की सरकारको महत्वाकांक्षी योजना मध्यको अन्ताल्या विमानस्थलको बिस्तार पर्यटन प्रवर्द्धन र वैदेशिक मुद्रा आर्जन गर्न अगाडि बढाइएको ठूलो प्रयास हो।
टर्की सरकारका अनुसार २०२२ मा ४ करोड २० लाख विदेशी पर्यटकहरूले अन्ताल्या विमानस्थल प्रयोग गरेका र ३ अर्ब ४० करोड अमेरिकी डलर राजश्व संकलन भएको बताएको छ। अन्ताल्या एयरपोर्टका प्रमुख प्रवन्धक दुर्डाली सावकारले अन्ताल्या विमानस्थललाई वर्षभर नै पर्यटक आउन सक्नेगरी कार्यक्रमहरू बनाइरहेको बताए।
अन्ताल्या एयरपोर्टको बिस्तारले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिने उनको विश्वास छ। देशको कुल गार्हस्थ्य उत्पादनमा करिब १० प्रतिशत योगदान र लगभग १७ लाख मानिसहरूलाई रोजगार दिनसक्ने अन्ताल्या एयरपोर्ट प्रमुख प्रवन्धक सावकारले बताए।

नेपाल कर्म । २७ श्रावण २०८०, शनिबार १४:१८