सुर्खेत । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आन्तरिक स्थिति बलियो नभएको बताएका छन्। शनिबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गदैै भट्टराईले ठूल दलको आन्तरिक पक्ष कमजोर भएकाले विभिन्न बैकल्पिक शक्तीको आवश्यक रहेको औलाए।
नेपाल समाजवादी पार्टीको अध्यक्ष समेत रहेका उनले पार्टीको ६ महिना अभियानका क्रममा प्रदेश नम्बर १ हुँदै कर्णाली आएको बताए। उनले आफ्नो पार्टीले पनि सातै प्रदेशमा नयाँ र वैकल्पिक शक्ती आवश्यक लगायतका विषयमा अभियान सञ्चालन गरेको जानकारी दिए।
यस्तै, बाबुराम भट्टराईले गणतन्त्रपछि भ्रष्टचार घट्नुको साटो बढीरहेको भन्दै भ्रष्टाचारका घटनाहरु उच्च स्तरिय आयोग मार्फत छानविन गरि कारबाही गर्नुपर्ने बताए। साथै भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान निकै कमजोर रहेकोले यसलाई बलियो बनाउनुपर्ने जनाए।

उनले भने, ‘ललिता निवासको सन्दर्भमा छानविन हुनुपर्छ। महिले विगतदेखिनै भन्दै आएको छु, छानविन गरौँ भनेर, म तयार नै छु।’

उनले देशमा भएका सबै खाले भ्रष्टाचारको छानविन हुनुपर्ने तर्क राखे। ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३÷४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो,’ उनले भने,‘ त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो । म छानविनका लागि तयार छु।’
वर्तमान सरकारको भविष्यबारे बोल्दै उनले नेतृत्वमा रहेका दल र नेता राष्ट्रियको हितमा भन्दा पनि सत्ता र स्वार्थका लागि साना दलहरुसँग विभिन्न सम्झौताहरु गर्ने तर, राष्ट्रिय हित नसोच्ने त्यो अझै कायम भएको बताए। उनले भने, ‘कुनै पनि दलको बहुमत नहुने कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा त्यसैले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ। गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो।’

नेपाल कर्म । २७ श्रावण २०८०, शनिबार १३:३६