सुर्खेत । देशमा भएका भ्रष्टचारका ठूला घोटलाहरुको छानविन गर्न उच्च स्तरिय आयोग बनाएर किनारा लगाउनु पर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नु भएका भट्टराईले छानविनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताएका हुन ।

चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी जस्ता भ्रष्टाचारका काण्डहरु मात्रै नभई पञ्चायतकालदेखिका प्रकरणलाई उच्चस्तरिय छानविन समिति बनाएर निष्पक्ष छानविन हुनुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ ।
गणतन्त्रणको स्थापनापछि भ्रष्टाचार नियन्त्रण हुनुको सट्टा झन मौलाएकाले ति घोटलाहरुको निष्पक्ष छानविन गर्न कार्यकारीको छायाँ नपर्ने आयोग गठन गर्नुपर्ने भट्टराईले बताए ।

उनले ललिता निवास प्रकरणमा आफूले गलत नगरेको र मन्त्रीस्तरिय बैठकबाट केही जग्गा समरजंग कम्पनीमा लैजान निर्णय भएको सत्य भएकाले छानविनका क्रममा दोषी देखिय सजाय भोग्न तयार रहेको बताए ।

अध्यक्ष भट्टराईले अहिलेको व्यवस्थाले देशमा स्थायीत्व कायम गर्न नसक्ने भएकाले केन्द्रमा राष्ट्रपति र प्रदेशहरुमा प्रत्यक्ष मुख्यमन्त्री चयनका लागि संविधान संशोधन गरेर निकाश दिन आवश्यक रहेको उल्लेख गरे ।
पुराना विचारधारा बोकेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका शक्तिहरुबाट परिवर्तन सम्भव नभएको उल्लेख गर्दै भट्टराईले पछिल्लो समय यिनै दलहरुप्रतिको वितृष्णाको उपजमा नयाँ शक्तिका रुपमा आफूहरु आएको दावी गरे । संविधान निर्माणका क्रममा शासकीय कमजोरीले अवलम्बन भएको निर्वाचन प्रणालीले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकास सम्भव नरहेको उनको भनाई छ ।

नेपाल कर्म । २७ श्रावण २०८०, शनिबार १२:१३