आगामी तीन दिन कर्णालीमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अपिल

सुर्खेत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर नै भारी वर्षा हुने भन्दै विशेष बुलेटिन सार्वजनिक गरेको छ । पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ नेपाल नजिक रहेको र अझै नेपालतर्फ सर्ने देखिएकाले विशेष सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।



मौसमको प्रभाव शनिवार रातीदेखि सामान्यदेखि पूर्णतया बदली रहने र देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबारदेखि सोमबारसम्म पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव तथा शहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

साथै, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जन–जीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध महाशाखाले गरेको छ ।

यस मनसुनी प्रणालीहरूलाई जल तथा मौसम विज्ञान विभागले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जनाइएको छ ।

तपाईको प्रतिक्रिया