सुर्खेत । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमा एउटा भिडियो क्लिप भाइरल छ । भिडियोमा सम्बोन्धन गर्ने व्यक्ति हुने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ।
उनले बोलेका छन्, ‘कर्णाली प्रदेशको कालिकोट भन्ने ठाउँमा चाही एम्बुलेन्स सेवाका लागि सहयोग माग्नु आउनु भएको थियो, वडा नम्बर ६ का भुवन लामाले प्रस्ताव गर्नुभएको थियो । यो ठाउँ विकट देखिएकादे दुई तीन लाख सहयोग गर्नुभन्दा एम्बुलेन्सल नै सहयोग गर्दा उचित देखिएकाले त्यो पनि पेश गर्न चाहान्छु ।’
प्रमुख शाहले यो अभिव्यक्ति उच्चारण गर्दा हलबाट ताली बज्छ र पेश गरिएको निर्णय पारित हुन्छ । यो त भयो सामाजिक सञ्जालमा चर्चा भएको विषय । आखिर यो भिडियो भित्रको सत्यतका विषयमा नेपालकर्मको टीमले यो आलेख तयार गरेको छ ।

बालेन शाहले बालेको भिडियो २०७९ साल चैत्र २३ गतेको हो । जति बेला काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर शाहले यो प्रस्ताव प्रस्तुत गरेका हुन् । यो प्रस्ताव पेश हुनुपूर्व सहयोग माग्ने युवाहरु बारे जान्न आवश्यक छ ।
महानगरको बैठकमा प्रस्ताव पेश गर्नुभन्दा करिव डेढ महिना अघि कालिकोटका दुई युवा कालिकोट कर्णालीको विटक जिल्ला भएको र भरपर्दो सेवा सुविधा नभएकाले एम्बुलेन्स खरिदका लागि सहयोग माग्न वडा कार्यालय पुग्छन् ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ को कार्यालयमा वडाध्यक्ष भुवन लामा थिए । उनी कहाँ कालिकोटका दुई जना युवाले विटक जिल्लाका नागरिकहरुलाई सस्तो र भरपर्दो रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स सेवाका लागि सहयोग गर्न अपिल विसाए ।

उनीहरुको आर्थिक सहयोग प्रस्ताव तीन हजारदेखि तीन लाखसम्मको थियो । कार्यकक्षमा रहेका वडाध्यक्ष लामाले तत्काल सहयोग गर्न नसकिने बरु यसबारे महानगरको कार्यपालिका बैठकमा प्रस्ताव लैजाने सुनाए । दुवै युवा त्यहाँबाट विदा भए ।

‘उहाँहरुले कर्णालीको पर्यटन र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार तथा सामाजिक क्षेत्रमा काम गरिरहेको बताउनुभएको थियो,’ वडाध्यक्ष लामाले भने, ‘सबै क्षेत्रबाट सहयोग मागेर कालीकोटबासीलाई एम्बुलेन्स सेवा दिन अभियान थालेकाले सहयोगको अपिल गर्नु भएको हो । मैले अहिले तत्काल रकम दिन नसक्ने भएकाले उचित सहयोगका आश्वासन दिएर उहाँहरुलाई विदाई गरेको थिए ।’
वडाध्यक्ष लामाले यो घटना माघ फागुन आसपासको भएको जानकारी दिए । ‘उहाँहरु आएको मिति त ठ्याक्कै भुले, महानगरको बैठकबाट पारित हुनु करिब दुई महिना अघिको हो,’ लामाले भने, ‘कर्णालीको विकटता बारे जानकार थियौं । नगद रकम दिनुभन्दा एम्बुलेन्स नै दिँदा उपयुक्त ठानेर सो सम्बन्धी प्रस्ताव मेयर शाहलाई सुनाएर मैले नै प्रस्ताव पेश गरेको हुँ । अन्तत कार्यापालिका बैठकबाट पारित भएको छ ।’
वडाध्यक्ष लामाकाअनुसार सहयोग माग्नेमा कालिकोटका दुई युवा आफू कालिकोटमा रहेको तिलागुफा नगरपालिका वडा नम्बर ७ काे स्थायीबासी रहेको परिचय गराएका थिए । तीमध्य एक टेकराज शाही रहेको लामा बताउँछन् ।
‘वडाको सिफारिसबाटै महानगरको बैठकबाट किन सहयोग नगर्ने भन्दै सकरात्मक सन्देशका लागि प्रस्ताव पारित गरिएको हो,’ लामाले भने, ‘वर्खा लाग्नु अवागै एम्बुलेन्स दिनेगरी गृहकार्यमा जुटिसकेका छौं ।’
युवाहरुले एम्बुलेन्स माग गरेपनि महानगरले २० लाख बढी मूल्य पर्ने महिन्द्रा कम्पनीकाे एम्बुलेन्स खरिद गरेर तिलागुफा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको छ । नगरपालिकाले नै सञ्चालन गर्नेगरी एम्बुलेन्सका लाग आवश्यक पत्र माग गरिएको वडाध्यक्ष लामा बताउँछन् । अब छिट्टै नै एम्बुलेन्स प्रदान गर्नेगरी हामी जुटेको र आवश्यक कागजात नगरपालिकाबाट प्राप्त हुने वित्तिकै प्रक्रिया अघि बढ्छ ।

नेपाल कर्म । ५ जेष्ठ २०८०, शुक्रबार ०६:०९