तत्कालिन कृषि सचिवसहित सुर्खेतका प्रतिष्ठित व्यापारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । तत्कालिन कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्रालयका  सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुखसमेत रहेका भारीसहित १६ जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परेपनि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको प्रवक्ता भोला दाहालले बताए ।

सचिवलगायतले कर्णाली कोल्डचेन लजिस्टिक, सुर्खेतलाई बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैया भुक्तानी गरेर भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले सचिव भारी, गणेश भण्डारी, हरि प्रसाद पण्डित, हरि बहादुर थापा, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी, उत्तम कुमार बस्नेत, खिमलाल वली, सुरेश कुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्ण राज भारती, कलाधर उपाध्याय, लक्ष्मण कडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ ।

तपाईको प्रतिक्रिया