तीन महिनापछि गाडी पुग्याे लगाम, स्थानीय खुसी

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब ९० किलोमिटरकाे दुरीमा छ, सुर्खेतकाे लगाम । तर तीन महिनापछि यहाँ गाडी पुगेपछि स्थानीय खुसी भएका छन् ।



वर्षात् नलाग्दै गाडी लगाम जान छाडेपछि चाैकुने गाउँपालिकाकाे घाटगाउँ क्षेत्रबाहेक अन्य वडाहरूमा सार्वजनिक गाडीहरू बन्द भएका थिए । सडककाे कारण देखाएर पञ्चपुरीकाे विद्यापुरसम्म मात्रै पुगेका गाडीहरूलाइ चाैकुनेकाे केन्द्र गुटु वा सडक राम्राे भएकाे खण्डमा त्याेभन्दा अगाडीसम्म गइदिन यातायात व्यवसायीलाइ अनुराेध गरिएकाे हाे ।

तर यातायात प्रा.लि.ले नमानेपछि शनिबार पालिकाको दुईवटा टिपरमा अध्यक्ष खड्क विकले गुटुबाट ६० जना यात्रुलाई वीरेन्द्रनगर पुर्याएका थिए । आइतबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा भएको त्रिपक्षीय बैठकमा पश्चिम सुर्खेतमा यातायातका साधन लिने सहमति भएपछि व्यवसायीले सुर्खेत पश्चिमको अन्तिम गाउँ लगामसम्म गाडी लिएका हुन् ।

बुधबार सुर्खेत कांक्रेबिहार यातायात प्रा.लि.को कर्णाली प्रदेश ग १ ख ७१२५ नम्बरको बस लगाम पुगेको हो । विगत तीन महिनादेखि यातायातको साधनबाट बञ्चित भई सास्ती भोग्दै आएका लगामबासीमा खुसीयाली छाएको चौकुने—१ धनरासका जीवन तिरुवाले बताए ।

‘पालिकाको केन्द्र गुटुमा त ४२ दिनसम्म गाडी आएन, लगाममा त तीन महिनापछि मात्रै गाडी आयो । बिरामी भएपनि डोकोमा बोकेर लिनुपर्ने बाध्यता थियो,’ तिरुवाले भने, ‘बुधबारदेखि गाडी आएको छ । जसले लगामबासीलाई सहज भएको छ ।’

यसभन्दा अगाडी ९७५ रुपैयाँ भाडा तिरेर वीरेन्द्रनगर आउने गरेका यहाँका स्थानीय बिहिबारदेखि ८४५ रुपैयाँमा वीरेन्द्रनगर यात्रा गर्न पाउने संयुक्त यातायात लगाम काउन्टरका कर्मचारी राजेन्द्र बान्तोलाले बताए ।

उनका अनुसार यसअघि वीरेन्द्रनगर आउन यहाँका नागरिकहरु बेतान, बिजौरा, गुटु हुँदै पञ्चपुरी नगरपालिकाको विद्यापुरसम्म पैदल हिँडेरसम्म आउने गरेका थिए । चौकुने वडा नम्बर १, २ र ३ का नागरिकहरुले हरेक वर्ष यातायातको सास्ती भोग्दै आएका छन् ।

अहिले पश्चिममा नियमित यातायातका साधन आएको र वर्षाका कारण जहाँ बाटो बिग्रियो त्यहाँ पालिकाले बाटो बनाइरहेको चाैकुने गाउँपालिकाका अध्यक्ष विकले जानकारी दिए । ‘सोमबारदेखि यहाँ निरन्तर गाडी आइरहेका छन् । बुधबार त पालिकाको एकदमै पश्चिममा पर्ने लगामसम्म गाडी पुगेको छ,’ अध्यक्ष विकले भने, ‘यातायातका साधन आएपछि यहाँका नागरिकलाई सहज भएको छ । बाटोतर्फ हाम्रो ध्यान सदैव रहने छ ।’

तपाईको प्रतिक्रिया