सुर्खेत । कर्णालीमा प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले यही जेठ १० गते संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो ।

मन्त्रीपरिषदको बैठकले जेठ १० गते दिउँसो ३ बजेका लागि बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष सिफारिस गरेको सरकार प्रवक्ता कृष्ण जिसीले नेपालकर्मलाई जानकारी दिए । बजेट अधिवेशन समेत भएकाले बैठक आह्वान गरिएकाे उनकाे भनाइ छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो । चार महिनाको अवधिमा कर्णाली प्रदेशसभामा जम्मा १५ वटा बैठक मात्र बसेर हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।


संसदको दोस्रो कार्यकालको पहिलो बैठक अवधिमा संसद्बाट एउटा पनि विधेयक पारित हुन सकेन । सत्ता परिवर्तन र राजनीतिक अस्थिरताका कारण संसद् निश्क्रिय जस्तै बनेको सरकारले प्रतिक्रिया दिने गरेको छ । चार महिनामा बसेका १५ वटा बैठकमध्ये तीनवटा बैठक त मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए ।

नेपाल कर्म । ४ जेष्ठ २०८०, बिहीबार १९:५०