जुम्लामा जसले उधारो नदिएको भन्दै अटाे, ट्याक्टर र आठ घरमा लगाए आगो

सुर्खेत । जुम्लामा एकै व्यक्तिले एक अटो, एउटा ट्याक्टर र आठ घरमा आगो लागाउनुको रहस्य उधारो नदिएको खुलेको छ । नाटकीयशैलीमा मध्यराती एकपछि अर्को गर्दै आगलागीका घटनाहरु बढेपछि प्रहरीले थालेको सुक्ष्म अनुन्धानका क्रममा पक्राउ परेका ति व्यक्तिले आफू गरिब भएकै कारण कसैले नपत्याइदिँदा आगो लगाउने गरेको खुलाएका हुन्



पक्राउ परेका ति व्यक्ति हुन गुठीचौर गाउँपालिका–४ स्थायी घर भएका ३० वर्षी रत्न अधिकारी । उनी हाल चन्दननाथ नगरपालिकाको भण्डारीबाडामा बस्दै आएका थिए । पक्राउ परेका उनी विभिन्न समयमा अटो रिक्सा, ट्याक्टर र विभिन्न व्यक्तिका घरमा आगो लगाउने घटना संलग्न भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रल्हाद कार्कीले जानकारी दिए ।

अधिकारीले गएको असार २६ गते गुठिचौर गाउँपालिका–४ बालुमा पार्किङ गरेर राखेको अटोमा आगो लगाएका थिए । सोही ठाउँका कृष्णबहादुर अधिकारीसँगको व्यक्तिगत रिसिबीका कारण अटोमा आगो लगाएको बयान प्रहरी समक्ष दिएको कार्कीले जानकारी दिए ।

‘अनुसन्धानका क्रममा कृष्णबहादुरसँग बुझ्दा एक पल्ट चामलको विषयलाई लिएर अधिकारीसँग विवाद बताउनु भएको छ,’ कार्कीले भने, ‘अधिकारी धेरै आगजनीका घटनामा साउन ५ गते बढी संलग्न भएपछि हामीले विशेष निगरानी बढाएर अनुसन्धान अघि बढाएका थियौं ।’

अधिकारीले साउनमा मात्रै चन्दननाथ–१ डुडाखोजमा रहेको रतनबहादुर बुढाको घरको दोस्रो तलाको बार्दलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका थिए । त्यसपछि गुठीचौर–४ बिगारेमा भीमप्रसाद घरको भुईँ तलामा राखेको गहुँको भुसमा राती करिब १२ बजे आगो लगाएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।

सोही दिन राती १ बजे गुठीचौर–४ खल्लावाडाका लाल चन्द्र सार्की र सोही गाउँपालिकाको डाँडावाडामा कविदत्त न्यौपाने (क)को घरको भुईँ तलाको आँगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलीमा क्षती पु¥याएको प्रहरीले जनाएको छ ।

साउन ५ गते राती नै अधिकारीले १ः३० बजेको समयमा गुठीचौर ४ डाँडावाडामै कविदत्त न्यौपाने (ख) को ढुङ्गा माटो जस्ताले बनेको ३ तले घरसँगै जोडिएको गोठमा रहेको निगालोमा आगो लगाएका थिए । सोही दिन राती १ः४५ बजे गुठीचौर–४ धवलपुराका खडानन्द पाण्डे र धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगो लगाएको प्रहरीको भनाई छ ।

रातभरी आगो लगाउँदै हिँडेका अधिकारीले ३ः१५ बजे गुठीचौर–५ मा सडक स्तरोन्नतिका लागि पार्किङ गरी राखेको रारा तेन्जिन कन्स्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेका थिए । आगो लगाउनुको मुख्य कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो समेत नपत्याउने र नदिने भएपछि निराश भई यस्तो कार्य गरेको बयान दिएको प्रहरी प्रमुख कार्कीले बताए ।

तपाईको प्रतिक्रिया