सुर्खेत । कर्णालीमा हालसम्म ९६.२६ प्रतिशत धान रोपाई भएको छ । कर्णालीमा प्रदेशमा असार महिना सकिएर साउन महिनाका अन्तिमसम्ममा ९६.२६ प्रतिशत धान रोपाई भएको हो ।
कर्णालीमा कुुल धान रोपाई हुने ४५ हजार ३८७.१२ हेक्टर जमिनमध्ये ४३ हजार ६८९.७३ हेक्टर जमिनमा धान रोपाई भएको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीको सुर्खेत जिल्लामा ५५ हजार २०० हेक्टरमा खेतीयोग्य जमिनमध्ये १५ हजार २४० हेक्टरमा धान खेती हुने त्यसमध्ये १४ हजार १२१.३८ हेक्टर जमिनका धान खेती गरिएको ९२.६६ प्रतिशतमा धान खेती भएको छ ।


दैलेखमा ४३ हजार १२१ खेतीयोग्य जमिनमध्ये ८ हजार ५१२ हेक्टर जमिनमा धान खेती हुने र हालसम्म ८ हजार ३४१.७६ हेक्टर जमिनमा धान खेती भएको ९८ प्रतिशत रोपाई भएको छ । रुकुमपश्चिमको २३ हजार १७२ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार ४८ हेक्टर जमिनमा धान खेती हुने त्यसमध्ये सय प्रतिशत नै धान रोपाई भएको मन्त्राललय जनाएको छ ।
जाजरकोटमा २५ हजार ३८४ हेक्टर जमिनमा धान खेती हुने र त्यसमध्ये ३ हजार ६५ हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म ३ हजार २२.८९ हेक्टर जमिनमा अथवा ९८.६ प्रतिशत धान खेती सकिएको छ ।
सल्यानमा ७९ हजार ५७ हेक्टर खेतीयोग्य जमिनमध्ये ७ हजार ७२ हेक्टर जमिनमा धान खेती हुने गरेको अहिलेसम्म ९८ प्रतिशत धानखेती सकिएको अथवा ६ हजार ९३०.५६ जमिनमा धान खेती भएको छ ।
डोल्पामा ९ हजार ३०० हेक्टर खेती योग्य जमिनमध्ये २७६ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म एक सय प्रतिशतमा नै धान खेती सकिएको छ । मुगुमा १६ हजार १३५ खेती योग्य जमिनमध्ये ९२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म ९०२.५८ (९८ प्रतिशत)हेक्टर जमिनमा धान खेती सकिएको छ ।
जुम्लाको ३९ हजार ४८६ हजार हेक्टर खेती योग्य जमिनमध्ये २ हजार ९५० हेक्टर जमिनमा धान खेती हुने गरेको अहिलेसम्म २ हजार ८६१.०५ (९७ प्रतिशत) धान खेती सकिएका जनाएको छ ।

कालिकोटमा ३१ हजार ९२९ हजार हेक्टर खेती योग्य जमिन रहेकामा त्यसमध्ये ३ हजार १९ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म २ हजार ९२८.४३ हेक्टर(९७ प्रतिशत) जमिनमा धान खेती लगाइएको छ ।
हुम्लामा १२ हजार ६५४.६८ हेक्टर जमिन खेती योग्य भएकोमा त्यसमध्ये १ हजार २८४.६८ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हालसम्म १ हजार २५६.६३ हेक्टर(९७.८६ प्रतिशत) जमिनमा धान खेती सकिएको छ ।
२६ हजार मेट्रिक टन खाद्यान्न अभाव
कर्णालीमा वर्षेनी झन्डै ३ लाख १६ हजार ३९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुने गरेको मन्त्रालयका प्रवक्ता कठायतले बताए । ‘२६ हजार मेट्रिक टनसम्म खाद्यान्न अभाव हुने गरेको छ ।’ उनले भने,‘जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा बढी खाद्यान्न अभाव हुने जिल्लामा पर्दछन् ।’
प्रदेशको जनसंख्यालाई आँकलन गर्ने हो भने पनि वार्षिक ३ लाख ४८ हजार सात सय ३२ मेट्रिक टन बराबरको खाद्यान्न आवश्यक पर्ने देखिन्छ । धानमा कर्णालीका सुर्खेत, सल्यान, रुकुम–पश्चिम र दैलेख खाद्य आत्मनिर्भर जिल्लाको सूचीमा छन् ।
सिँचाइको अभाव
सबैजसो खेतीयोग्य जमिनमा सिँचाई सुविधा नपुगेका कारण कर्णालीमा खाद्यान्न उत्पादन क्षमता न्युन छ । कर्णालीमा धान बाली हुने क्षेत्रमा ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिँचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिँचाइ सुविधा उपलब्ध छ ।
धान उत्पादन घट्दो
नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन २०७९ का अनुसार आर्थिक वर्ष २०७८-०७९ को तुलनामा २०७९÷०८० मा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढे पनि प्रमुख बालीमध्ये धान खेतीले ढाकेको क्षेत्रफल भने घटेको छ ।
गत आर्थिक वर्ष २०७८-०७९ को पुष महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ३८ प्रतिशतले बढेको थियो । तर, सोही अनुपातमा धान बालीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ । धान बालीले ढाकेको क्षेत्रफल एक दशमलव १८ प्रतिशतले घटेको छ ।

नेपाल कर्म । २३ श्रावण २०८०, मंगलवार १०:४७