सुर्खेत । विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारवाहीको माग राख्दै सुर्खेतमा ज्ञापन पत्र बुझाइएको छ । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएकाले कानून बमोजिम हदैसम्म सजाय दिइनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो ।

सुर्खेतस्थित नेपाल मगर संघ र नेपाल तामाङ घेदुङ समितिले तीन वुदे माग राख्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापाकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।


उनीहरुले शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरू राखिरहेका अभियन्ताहरूलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक दानबहादुर कार्कीसहित संलग्न सबै प्रहरीलाई कार्वाही गर्नुपर्ने पनि उनीहरुको माग छ ।

यस्तै, साउन १७ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौ अभियन्ताहरूलाई उपचार खर्चसहित उचितक्षतिपूर्ति सरकारले दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
पाण्डेल साउन ७ गते टेलिभिजन अन्तरवार्तामा तामाङ र मगर जातिमा दाजु–बहिनीबीचमा बिबाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताका हुने गरेको अभिव्यक्ति दिएकी थिइन् ।
तामाङ र मगरलगायत आदिवासी जनजाति समुदायको प्रथा जनित अभ्यासमाथि गलत ढंगले व्याख्या गरेकाले उनलाई गम्भीर मानवअधिकार उलंघन भएकोले आवश्यक कार्वाही गर्नुपर्ने अभियान्ताको छ ।

नेपाल कर्म । २२ श्रावण २०८०, सोमबार १६:१०