सुर्खेत । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा ठूलो वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका जुम्लाका ११ जनाको आफन्तले अन्तिम संस्कार गरेका छन् । भारतको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा नेपालीहरुले सञ्चालन गरेको होटल नै पहिरोले बगाएर मन्दाकिनी नदी बेपत्ता भएपछि सास भेटिने आश मारेर आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

गएको बिहिवार राती नेपालीहरुले होटल सञ्चालन गरेको ठाउँमा पहिरो खस्दा जुम्लास्थित पातारासी गाउँपालिका एकै परिवारका सात जनासहित ११ जना बेपत्ता भएका थिए । जुम्ला रहेका आफन्तले उनीहरु जीवित भेटिने सम्भावना नभएपछि शनिवार बेपत्ताहरुको पुत्ला बनाएर अन्त्यष्टी गरेको पातारासी गाउँपालिका–३ का वडाध्यक्ष गोविन्द रावतले नेपालकर्मलाई जानकारी दिए ।
पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका सातसहित नौं र पातारासी–२ का दुई तथा हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका थिए । तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएपनि उनीहरुको सनाखत भएको छैन ।

हालसम्म वेपत्ता हुनेमा पातारासी–३ का २८ वर्षीय अमर बोहोरा, उहाँकी श्रीमती २६ वर्षीय अनिता, १४ वर्षीय छोरी राधिका, ८ वर्षीय छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नम्बर २ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीय सुखराम रावत पनि वेपत्ता छन् । हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको बताइएको छ ।

बेपत्ता हुने अमरका छिमेकी श्रीराम थापाका अनुसार अमरका तीनै दाजुभाइ गौरीकुण्ड आसपास अलग–अलग होटल खोलेर बसेका थिए । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेदोसहितको पहिरोले होटललाई मन्दाकिनी नदीमा पु¥याएकाले बेपत्ताहरू फेला नपरेको उल्लेख गरेका छन ।
स्थानीय प्रशासनले भारतमा बेपत्ता भएकाहरुको पहिचान र एकिन विवरण उपलव्ध गराइदिने गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ‘जुम्लाका ११ जना बेपत्ता भएको खवरपछि यहाँको पालिकासँग समन्वय गरेर नामावली मन्त्रालय पठाइसकिएको छ,’ प्रजिअ घिमिरेले भने, ‘गृहले परराष्ट्र मन्त्रालय पठाएको र त्यहाँबाट दुतावासमार्फत एकिन विवरण र नेपालीहरु बेपत्ता भएको स्थानको अवस्था मागेको जानकारी पाएको छु ।’
स्थानीयका अनुसार चौरगाउँका ५० घरपरिवार अहिले मौसमी कामको खोजीमा उत्तराखण्ड पुगेका छन् । जुम्लाका पाटनमा पाइने जडीबुटी लोप हुन थालेपछि कामको खोजीमा भारत जाने गरेका छन् ।
गाउँका २ सय १९ घरधुरीमध्ये एक तिहाइ भारतमै रहेको पातारासी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाअनुसार कुल्ली, स्याउ टिप्ने, बगैंचा रेखदेख गर्नेलगायत दैनिक ज्यालादारी कामको खोजीमा भारत पस्ने पुरानै चलन हो ।

सुशील खड्का । २१ श्रावण २०८०, आईतवार १५:१५