कक्षा काेठामै पुगेर सुरक्षित महिनावरीबारे बुझाउँदै नगर प्रमुख ढकाल

१६ विद्यालयमा जडान गरियो भेन्डिङ मेशिन

सुर्खेत । महिनावारी हुनु कुनै अपराध हैन, यो एक प्राकृतिक प्रकृया भएपनि यसलाई समाजमा गलत रुपमा लिईंदै आएको छ । अझ भनौं, महिनावारी भएका बेला गाउँघरमा महिला तथा किशोरीहरुले प्याडको प्रयोग गर्दैनन् । गरेपनि फोहर कपडाको प्रयोग गरेको पाईन्छ । जुन स्वास्थ्यका दृष्टीकोणले निकै खतरा मानिन्छ ।



तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सुरक्षित महिनावरीका लागि विद्यालयमै पुगेर छात्राहरुलाई स्यानिटरी प्याडको प्रयोगबारे जानकारी दिँदै भन्डेङ मेशीन राखेको छ । कर्णालीमा रहेका अन्य पालिकाहरुभन्दा वीरेन्द्रनगर सुगमको पालिका हो ।

तर यहीँ पालिकामा अझैपनि कतिपय किशोरीहरु खुलेर महिनावरी बारे बहस गर्न चाहदैनन् । यद्यपी वीरेन्द्रनगर नगरपालिकाले सुरक्षित महिनावरीको महत्व बुझाउँदै विद्यालयमा स्यानिटरी प्याड राख्ने भेन्डिङ मेसिन जडान गरेको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरू महिनावारीको समयमा पनि निर्धक्करूपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन र विभिन्न रोगहरूबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्न नगरपालिकाले सुर्खेत उपत्यकाका विद्यालयमा भेन्डिङ मेसिन जडान गरिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनी आफै विद्यालयमा पुगेर छात्राहरुलाई महिनावरीप्रतिको गलत सामाजिक परम्परा र अन्धवश्वास रहेकाले स्यानिटरी प्याडको प्रयोग गर्नमा कुनै डर वा लाज नमान्न आग्रह गरिन् ।

निःशुल्क स्यानिटरी प्याडको सहज प्रयोग गर्ने उद्देश्यले छात्राहरुको सुरक्षित महिनावारीलाई सुनिश्चित गर्न सामुदायिक विद्यालयहरुमा भेन्डिङ मेसिन जडान गरिएको छ । छात्राहरु महिनावारी हुँदा विद्यालय नआउने, गुणस्तरीय स्यानिटरी प्याडको अभाव हुन नदिने र विद्यालयको स्वास्थ्य तथा सरसफाइ कक्षमा भेन्डिङ मेसिन जडान गरिएको ढकालको भनाई छ ।

विद्यालयमै गुणस्तरीय स्यानिटरी प्याडको उपलब्धता भएपछि महिनावारीको समयमा थप सहज भएको छात्रा करिश्मा सुनारले बताइन् । ‘अझै पनि समाजमा महिनारी भएको बेला हेर्ने दृष्टिकोण फरक छ, हामी पनि ति परम्परागत मान्यताबाट अछुत छैनौं,’ सुनारले भनिन्, ‘कुनै दिन नर्स विद्यालयमा नभएको बेला अरुबाट स्यानिटरी प्याड माग्न लाज लाग्थ्यो, अब मेसिन नै जडानपछि निर्धक्क भएर प्रयोग गर्नमा सहज भएपछि खुसी छौं ।’

वीरेन्द्रनगरले पहिलो चरणमा मावि धुलियाविट, नेवारे, इत्राम, डाँडास्कुल, जनमावि, भैरवस्थान, ढोडेखाली, लाटिकोइली, घुस्रा, खजुरा, चिसापानी, तातापानी, कोलडाँडा, कृष्णगञ्ज, पर्सेनी, गाग्रेताल लगायतका १६ विद्यालयहरुमा छात्राका लागि स्यानिटरी प्याड व्यवस्थापन गरेको छ ।

महिनावारी हुने उमेर समूहका छात्रा अध्ययन गर्ने सबै विद्यालयमा यस्तो मेसिन जडान गर्ने तयारी नगरपालिकाको छ । ‘सुरक्षित महिनावारी हामी सबैको जिम्मेवारी’ अभियानका साथ स्वास्थ्य संस्थाहरुबाट नगरपालिकाले निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया