सुर्खेत । दैलेखको दुल्लुमा बहुउदेश्यीय ड्याम निर्माण गरेर ताल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । दुल्लु नगरपालिकाको वडा नम्बर १ र ५ को सिमानामा पर्ने बार्तडीमा ड्याम बनाउन आवश्यक बजेट विनियोजन गरिएको हो ।

खानेपानीसँगै सिँचाई पु¥याउने लक्ष्य रहेको बार्तडी बहुउदेश्यीय आयोजनाको दुल्लु नगरपालिकाले यसअघि नै सम्भाव्यता अध्ययन र गुरुयोजना बनाएको थियो । तत्कालिन दुल्लु नगरपालिकाको प्रमुखसमेत रहेको प्रदेश सभा सांसद घनश्याम भण्डारीले बहुउदेश्यीय योजनाको परिकल्पना गरेका हुन् ।
सिमसार क्षेत्र रहेको बार्तडीबाट हाल सोलार लिफ्टमार्फत खानेपानी दुल्लु क्षेत्रमा पु¥याइएको छ । तल्लोडुंगेश्वर–बार्तडी–रातामाटा सडक खण्डमा पर्ने बार्तडी खोलामा हाल सवारी आवागमन लागि बनाइएको पुल क्षेत्रमा ड्याम निर्माण गरिनेछ ।

‘सिमसार क्षेत्रको संरक्षणसँगै खानेपानीको स्रोत सुनिश्चितका लागि ड्यामको परिकल्पना गरिएको हो,’ सांसद भण्डारीले नेपालकर्मसँग भने, ‘ड्याम बाँधेर पानी जम्मा गर्दा नाउले र रिजु क्षेत्रमा सिँचाईको सुविधा पुग्नेछ भने दुल्ल क्षेत्रका पाँच सय घरधुरीमा बाह्रै महिना खानेपानी उपलव्ध गराउने ध्येय राखेर ड्याम निर्माणमा जोड दिइएको हो ।’
यो वर्ष तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यो बजेटबाट आयोजनाको वातावरणिय प्रभाव मुल्यांकन (इआईए) गर्ने र ड्यामभन्दा तल्लो क्षेत्रका नागरिकहरुलाई दीर्घकालिन रुपमा पार्नसक्ने प्रभावको समग्रमा अहिले नै अध्ययन गरेर प्रतिवेदन बनाइने भण्डारी बताउँछन् ।

‘कुनै कालखण्डमा भुकम्प वा अन्य प्रकोप आएमा त्यो बेला तल्लो क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने अहिले नै अध्ययन गर्न जरुरी छ,’ भण्डारी भन्छन्, ‘अध्ययनविनै ड्याम निर्माण गर्दा प्रभावकारितामा प्रश्न पनि उठ्छ, त्यसैले यसअघि नगरपालिकामा म छँदा एक खालको अध्ययन गरिसकिएको छ । यसलाई पूर्णता दिएर निर्माण थालनी गरिनेछ ।’
बार्तडीमा ड्याम निर्माणपछि हाल रिजु पोखरा, छिउडी, गमौडी, दुल्लु लगायत क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान हुने अपेक्षा राखिएको छ । बार्तडी खोलमा १४ मिटर अग्लो ड्याम बनाएमा १४ मिटर चौडाइसम्म पानी जम्मा हुने पूर्वानुमान गरिएको छ ।
ताल क्षेत्रले करिव एक किलोमिटर ओगट्ने छ । आयोजना सम्पन्न गर्न २२ करोड रकम खर्च हुने सांसद भण्डारी बताउँछन् । ताल निर्माणपछि भूमिगत पानीको रिचार्ज हुने र सिमसारको संरक्षण हुने अपेक्षा छ ।
प्रारम्भीक अध्ययन क्रममा बार्तडी क्षेत्रमा चट्टान रहेकाले ताल बनाउँदा कुनै समस्या नहुने देखिएको छ । यो क्षेत्रमा रिजु र नाउलेका पाँच जना स्थानीयको केही जमिन मात्रै रहेकाले निर्माणमा ठूलो विवाद नहुने विश्वास सांसद भण्डारीको छ ।

सुशील खड्का । १९ श्रावण २०८०, शुक्रबार १८:२०