सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरकाे भैरवस्थानबाट १२ ताेला सुन चाेरी भएको छ । वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान पिपल चौतारा टोलमा बस्ने शंकरप्रसाद रिजालको घरबाट सुन चोरी भएको हाे ।

आफु घरभन्दा बाहिर भएको र घरमा कोही नभएको मौका पारेर आएका चोरहरुले घरका ढोका तोडफोड गरी दिउँसो १२ बजेदेखि दिउँसो ३ बजेको अवधिमा सुन चोरी गरेको घरमुली रिजालले जानकारी दिए ।

उनकाअनुसार रानीहार १, मिनिहार १, बाला २, औठी २, मागटिका १, चन्द्रमा १, झुम्का २ र पाउजु १ जोर गरी करिब १२ लाख बराबरका गरगहना चोरी भएका छन् ।

रिजालले गरगहना चोरी भएको बारे प्रहरीलाई जानकारी दिएको बताए पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने गरगहना चोरी भएको भन्नेबारे आफुहरुलाई कुनै पनि जानकारी नआएको बताएको छ ।
यता, सुनचाँदी व्यवसायी महासंघ सुर्खेतले भने लाखौँ रकम बराबरको गरगहना चोरी भएकाले चोरहरु बिल विना कुनैपनि पसलमा बिक्री गर्न आएमा रिजाल वा प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ ।

नेपाल कर्म । १९ श्रावण २०८०, शुक्रबार १४:३३