देउती बज्यैमा अब विशेष आरती पूजा

मन्दिर सञ्चालन गर्न विधान संशाेधनसँगै कार्यविधि बनाइँदै

सुर्खेत । देउती बज्यै मन्दिरलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले हस्तक्षेप गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको प्रमुख धार्मिक पर्यकीयस्थलमध्यको एक देउती बज्यैको व्यवस्थापनमा भद्रगोल देखिएपछि नगरपालिकाले हस्तक्षेप गर्न लागेको हो ।



लामो समयदेखि मन्दीरबाट संकलन हुने भेटीको लेखापरिक्षण नहुँदा खर्च विवरण पारदर्शी देखिएको छैन् भने व्यवस्थापन पनि भद्रगोल अवस्थामा पुगेको निष्कर्ष नगरपालिकाको छ । मन्दिरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिकाले कार्यविधि निर्माण गर्ने र हाल विद्यमान रहेको विधान संशोधन गर्ने निर्णय गरेको छ ।

देउती बज्यै मन्दिर व्यवस्थापन सल्लाहकारको साधारण सभा आयोजना गरेर अहिले देखिएका सबै समस्या समाधान गर्न जिल्लास्थित सरोकारवाला निकायले नगरपालिकालाई सुझाव दिएका छन् । बिहीबार आयोजित सुझाव संकलन बैठकमा प्रदेश राजधानीको चर्चित देउती बज्यैको संरक्षणमा नगरपालिकाले अपनत्व लिएर हस्तक्षेपकारी भूमिकाबाट व्यवस्थित गर्नुपर्ने जोड उनीहरुको छ ।

देउती बज्यैको आफ्नै महत्व रहेकाले मन्दिर क्षेत्रमा अन्य मन्दिर बनाउनु राम्रो नभएको सरोकारवालाले प्रश्न गरेका छन् । ‘सरोकारवालाहरुको सुझावका आधारमा अब देउती बज्यैलाई थप प्रभावकारी बनाउन नगरपालिका अघि बढेको छ,’ नगर प्रमुख मोहनमाया ढकालले भनिन, ‘पहिलो काम विधान संशोधनसँगै कार्यविधि निर्माण गर्ने र पारदर्शीे हिसाबकिताबका लागि लेखापरीक्षण गर्ने निर्णय गरेका छौं ।’

मन्दिर व्यवस्थापन समितिको सचिवमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रप्रसाद डाँगीलाई नियुक्त गरिएको छ । यस्तै, यसअघि लेखा परीक्षण गर्दै आएका सिए. छवी आचार्यले लेखापरीक्षकको रुपमा नियुक्त गरिएको छ । नगरपालिकाका प्रमुख व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था छ ।

देउती बज्यैलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्न पुजारीहरुले लगाउने पोशाकको व्यवस्था गर्ने र हरेक शनिवार विशेष आरती पूजा गर्ने व्यवस्था मिलाइने ढकालले बताइन् । ‘अहिलको जस्तो भद्रगोल व्यवस्थापनबाट मन्दिरको विकास गर्न सकिदैन्,’ ढकाल भन्छिन्, ‘देउती बज्यैको परम्परागत मूल्यमान्यतालाई बचाई राख्न सुधार गर्नैपर्ने विषय छनौट गरेर नगरपालिका अघि बढेको छ ।’

२०५२ सालमा जिल्ला प्रशासन कार्यालयमा देउती बज्यै मन्दिर व्यवस्थापन समिति दर्ता भएपनि २०६९ सालमा नविकरण गरिएको छ । हाल देउती बज्यै मन्दीरको नाममा विभिन्न बैंकमा २७ लाख रकम बचत छ । देउती बज्यै मन्दीर चार हजार ३३३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया