सुर्खेत । जिल्लाको बराहताल गाउँपालिका–८ र ५ को बीचमा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा बनेका घर टहरा हटाइएको छ। डिभिजन वन कार्यालय भेरी बाबियाचौरका निमित्त डिभिजनल वन अधिकृत शेरबहादुर रोकायाको नेतृत्वमा टहरा हटाइएको हो।

घर, टहरा हटाउने कार्यक्रममा बराहताल, लेखगाउँ, बड्डिचौर, भेरी सव डिभिजन वन कार्यालय बाबियाचौरका कर्मचारी तथा बड्डिचौर प्रहरीको सहभागीता रहेको थियो।

करिब ५ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका २१ घरटहरा, छाप्रामा आगो लगाएर नस्ट गरिएको डिभिजन वन कार्यालय भेरीले जनाएको छ।
२०७९ असोजमा आएको बाढीले चेपाङ्ग बस्तीका १४ घरमा क्षति पु¥याएको थियो। बाढी पीडितहरु भट्टेघारी स्थित वन क्षेत्रमा आई टेन्ट हालेर बसेका थिए। तर, सकुम्बासीका नाममा अन्य व्यक्तिले समेत वन फडानी गरी टहरा बनाएका थिए।

सामुदायिक वन उपभोक्ता समितिले भने आगजनी गरिएका घर, टहरा भएका व्यक्तिहरुले अनुमति बिनानै अतिक्रमण गरी बसेको बताएको छ।
प्रहरी चौकी बाबियाचौरका प्रमुख डिलिप बस्नेतले जंगल ओगटेर बसेकाहरुको घर, टहरा जलाइएको बताए।
‘हामीले घर टहरामा आगो लगाइएका व्यक्तिहरुको घर अन्य ठाउँमा छदैछ तर, रातारात जंगलमा गई ओगट्नु भयो, उहाँहरु सकुम्बासी भएपनि यहाँ भन्दा पहिला स्थानीय सरकारले बस्ने व्यवस्था गरिसकेको थियो,’ उनले भने,‘ तर, उहाँहरुले जंगल क्षेत्रनै प्रतिदिन ओगट्दै गएपछि आगो लगाइएको हो।’


नेपाल कर्म । १८ श्रावण २०८०, बिहीबार १६:५०