सुर्खेत । आँखा पाक्ने भाइरल प्रकोपका कारण विरामीको संख्या बढेको छ । वर्षायाममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि सुर्खेतसहित आसपासका जिल्लामा तिव्र रुपमा फैलिरहेको हो ।
यो रोगका कारण कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्रायः र अन्य नागरिकहरु संक्रमित भइरहेका छन् ।


धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न भएकाले जनघनत्व अलि बढी भएको ठाउँको आँखा पाक्ने रोग भाइरलका रुपमा देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. शक्ति सुवेदीले नेपालकर्मलाई जानकारी दिए । उनले धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था देखिएपनि यो रोग जुनसकै उमेर समूह, महिला–पुरुष सबै उमेर समूहका मानिसमा संक्रमित भएको बताए ।
एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ। पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ। हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गरेको डा. सुवेदी बताउँछन् ।
वर्षायाममा यसको किटाणु सक्रिय हुने, ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु रहेको सुवेदीको भनाई छ । कर्णाली प्रदेश अस्पतालमा दैनिक ३० जना विरामी उपचारका लागि आउने गरेको डा. सुवेदी बताउँछन् ।
यता, सुर्खेत आँखा अस्पतालमा दैनिक पाँचदेखि ६ सय नागरिकहरु आँखा पाक्ने रोगको समस्या लिएर पुग्ने गरेकाे नेत्र राेग विशेषज्ञ आकाँक्षा रानाले बताइन् । उनले संक्रमित भएका सरकारी वा गैरसरकारी कर्मचारीलाइ कार्यालय नगएर रेष्ट गर्न र बालबालिकाहरूलाइ स्कुल नपठाउन सुझाव छ ।
चेतनास्तर बढेकाले संक्रमितहरूमा गम्भीर प्रकृतिकाे असर नदेखिएकाे उनकाे भनाइ छ । संक्रमित भएमा नआत्तिन र सरसफाइमा विशेष ध्यान दिएमा राेग विस्तारै आफै सन्चाे हुने भएकाले धेरै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाइ देखाउन डा. रानाले बताइन् ।

प्रमुख लक्षणहरु
१) एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने
२) आँखा धेरै चिलाउने तथा आँखा टाँसिने
३) आँखाबाट बारम्बार पानी बगिरहने
४) आँखामा कचेरा लाग्ने तथा टाँसिने
५) आँखाबाट आँसु बगिरहने
६) आँखा सुन्निने
७) आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ।
८) कहिलेकाँही रुघा खोकी लाग्न सक्छ।
९) कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ।
यस्तो समस्या भएमा के गर्ने?
१. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन।
२. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने
३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने। अरुलाइ प्रयोग गर्न तथा छुन नदिने
४. सके सम्म सगै नसुत्ने भिड भाड हुने ठाउहरुमा नजाने
५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुने
६. कालो चस्माको प्रयोग गर्ने
७. टिभीको रिमोट, मोबाइल, ल्यापटप सबै जसोले प्रयोग गर्दछौं, घरमा सबैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौं। यी सामानहरु सबैले छुने हुनाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो।
गलत धारणा
यस्ता लक्षण भएका मानिसको आँखामा हेर्दा, आँखामा आँखा जुधाउँदा, सँगै बस्दा, कुराकानी गर्दा, सँगै खाना खाँदा सर्छ भन्ने गलत धारणा छ। यसो गर्दा एक मानिसबाट अर्को मानिसमा सर्दैन। जबसम्म रोग निम्त्याउने किटाणु कुनै न कुनै माध्यमबाट अर्को मानिसको आँखासम्म पुग्दैन तबसम्म सर्दैन।
उपचार तथा सावधानी
यदि कसैमा यस्तो किसीमकोझ आँखामा समस्याहरु देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउदा ठूलो समस्याबाट बच्न सकिन्छ। साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ। तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ। आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गार्हो हुन्छ। आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्यासम्म पनि गराउन सक्छ। आँखाको दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता लक्षणहरु पनि हुन सक्दछ।
यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ। नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नु पर्दछ। जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन। जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ। तसर्थ चिकित्सकको सल्लाह बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ।
घरको दुई मानिसको औषधि एकै किसिमको हुन पनि सक्छ, एकै किसिमको भएपनि अलग अलग प्रयोग गर्ने अलग अलग ठाउँमा राख्ने गर्नु पर्दछ। औषधि लगाइसकेपछि हरेक पटक राम्रोसँग साबुन पानीले हात धुनु पर्दछ। यस्ता लक्षणहरु देखा परेमा तुरुन्त नजिकका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गएर चेक जाँच गराउनु पर्दछ। डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारका औषधिहरुको प्रयोग गर्नु हुँदैन।
कहिलेकाँही सानोतिनो गल्तीले ठूलो समस्या निम्तियाउन सक्छ। त्यसैले समयमै उपचारको बाटोमा जानू पर्दछ यसले गर्दा समयको बचत, पैसाको बचत साथै ठूलो समस्या हुनबाट जोगिन सकिन्छ।

नेपाल कर्म । १८ श्रावण २०८०, बिहीबार १४:३६