सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ठूलो लगानीमा होटल अर्गानिक सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर १० शान्तिनगरमा व्यवसायी चिन्तामणि शर्माले अशोका अर्गानिक होटल सञ्चालनमा ल्याएका हुन् ।

कर्णालीमा उत्पादन हुने रैथाने अन्नका परिकारहरु अर्गानिक होटलमा पाइनेछन् । अर्गानिक होटलको कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले उद्घाटन गरेका छन् । उनले कर्णाली सरकारले अर्गानिक घोषणा गर्ने लक्ष्यमा व्यवसायीहरुले अर्गानिक परिकारसहितको होटल सञ्चालनले थप ऊर्जा प्रदान गरेको बताए ।


अर्गानिक प्रदेशको पहिचानमा होटलसमेत थप टेवा पुग्ने विश्वास उनको छ । लजसहित २० कोठा रहेको होटलमा कर्णालीका विभिन्न अर्गानिक परिकारहरु ग्राहकहरुलाई स्वाद दिने उदेश्यले होटल सञ्चालनमा ल्याएको सञ्चालक शर्माले जानकारी दिए ।

होटल सञ्चालन गर्न करिव सात करोड लगानी लागेको उनको भनाई छ । होटलमा आउने हरेक ग्राहकहरुलाई आगोमा पकाएको खाना खुवाउने व्यवस्था गरिएको शर्मा बताउँछन् ।

अर्गानिक बाहेकका अन्य कुनै पनि परिकार नरहने र कर्णालीकै चिनो, कागुनो, मार्सी, फापर, कोदो लगायतका विभिन्न रैथाने खाद्यन्नको स्वाद ग्राहकहरुलाई चखाउने शर्माले जानकारी दिए । शर्माले भेरीगंगाको सत्तरीमा अर्गानिक कुखुरा र बाख्रा फर्मसमेत सञ्चालन गरिरहेका छन् ।

नेपाल कर्म । १६ श्रावण २०८०, मंगलवार १७:२४