कर्णालीमा पनि स्तनपान सप्ताह सुरु, टोेल-टोलमा सचेतना फैलाइदै

सुर्खेत । विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने नाराका साथ अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइँदै छ ।



स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा. रविन खड्काका अनुसार सप्ताह अन्र्तगत सुर्खेत सहित कर्णालीका १० वटै जिल्लामा पनि सचेतनामुलक कार्यक्रम भईरहेका छन् ।

बच्चा जन्मिएको ६ महिनासम्म पर्याप्त स्तनपान गराउने आमाहरुको संख्या घट्दै गएकोले पूर्ण स्तनपान गराउनेको संख्या बढाउन सप्ताहव्यापी कार्यक्रम संचालन गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्यकर्मी तथा महिला स्वयंमसेविका मार्फत हरेक टोलटोलमा सचेतनामुलक कार्यक्रम भइरहेका छन् ।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नवजात शिशुमध्ये ५६ प्रतिशतले मात्रै जन्मिएको ६ महिनासम्म पर्याप्त आमाको दूध नपाउने गरेको देखाएको छ । स्तनपानको यो दर सन् २०१६ मा ६६ प्रतिशत थियो । तर पहिल्लो समय पूर्ण स्तनपान गराउने आमाको संख्या क्रमश घट्दै गएको पाइन्छ ।

किन आमाको दूध नै खुवाउने ?

जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले शिशुहरुमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरुले देखाएका छन् । तथ्यांक अनुसार आमाको दूधमा शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्वसहित ८७ प्रतिशत पानी, सात प्रतिशत गुलियो पदार्थ, चार प्रतिशत चिल्लो पदार्थ र एक प्रतिशत प्रोटिन हुन्छ ।

यसले शिशुलाई झाडापखाला, विभिन्न एलर्जी तथा अन्य रोगहरुको संक्रमणबाट बचाउँछ । त्यस्तै, आमाको दूधले शिशुलाई कुपोषण हुनबाट बचाउँछ भने बालबालिकाको मृत्युदर १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउँछ ।

यस्तै, स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ । आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

तपाईको प्रतिक्रिया