सरकारले चिन्दैन प्रयाेगशालाकाे महत्व, कर्णालीकाे पशु अन्वेषण प्रयाेगशाला बन्द

सुर्खेत । केन्द्र सरकारले बजेट नै विनियाेजन नगरेपछि कर्णालीमा रहेकाे पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सबै सेवा बन्द गरेकाे छ । संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएपछि सेवा नै बन्द गरेकाे हाे ।



‘आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचना अन्योलताका कारण यस पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतका लागि कुनै पनि शीर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति २०८० साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । साथै सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय परिवार क्षमाप्रार्थी छौँ,’ सोमबार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

संघीय सरकारबाट कर्णालीका १० जिल्ला र लुम्बिनी प्रदेशका ६ गरी १६ जिल्लाको जिम्मेवारी पाएको प्रयोगशालाका लागि कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नगरेपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

संघ सरकारले चालु आर्थिक वर्षका लागि बजेट नपठाउँदा प्रयोगशालाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली र लुम्बिनी प्रदेशका १६ जिल्लामा प्रवाह गरिँदै आएका (मौखिक परामर्श लगायत खर्च नलाग्ने) सेवाबाहेक अन्य सम्पूर्ण सेवा सोमबारदेखि बन्द गरिएकाे डा. श्रेष्ठले बताए ।

अहिले पशुपन्छीमा लम्पी स्किनलगायतका रोगले महामारीको रूप लिएको अवस्थामा प्रयोगशाला बन्द गर्नुपर्ने अवस्था आएपछि यसको गम्भीर असर पर्ने श्रेष्ठ बताउँछन् । पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिको लागि बिभिन्न रोगहरू बाधक हुने हुँदा पशुपन्छीजन्य रोगहरूलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परीक्षण गरी समयमै औषधि, उपचार तथा रोकथामका विधिहरू अपनाई रोग उन्मुलन गर्ने उद्देश्यले प्रयोगशालाको स्थापना गरिएको हो । तर, संघ सरकारको उपेक्षाले सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार प्रयोगशालाबाट नियमित रूपमा सञ्चालित प्रयोगशाला सेवा कार्यक्रमअन्तर्गत परजीवी पहिचान, प्याथोलोजी सेवा, माइक्रोबाइलोजी सेवा तथा मलिकुलर बाइलोजी सेवा प्रमुख हुन् ।

यसका साथै नियमित रोग सर्भिलेन्स, ईपिडेमिक रोग अन्वेषण पनि नियमित रूपमा हुँदै आइरहेको छ । जसको फलस्वरुप बर्ड फ्लु जस्ता माहामारीको रूपमा देखा पर्ने सीमाविहीन पशु रोगहरूको समयमै सही रूपमा रोग निदान भई रोग नियन्त्रण कार्यमा सहयोग पुगिरहेको श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया