सुर्खेत । बिहानको ११ बजेर ३० मिनेट गएको थियो, वीरेन्द्रनगर नगरपालिकाकाे भवन छिर्ने ढोकाको अगाडी राखिएको कुर्सीमा एक व्यक्ति बसेका थिए । उनीसँगै नगरपालिकाका गार्ड र अन्य सेवाग्राही छेउमा थिए । हाप टिस, आँखामा कालो चस्मा र क्यापटोपी लगाएका ति युवा कसैको प्रतिक्षामा थिए ।
हातमा सानो फाइबर झोला समातेर मोबाईल चलाइरहेका थिए । ति व्यक्ति हुन्, हाँस्यकालाकार बान्द्रे अर्थात् सुरेन्द्रप्रसाद चापागाई । टेलिभिजन सिरियल मेरी बास्सैमा अभिनय गर्दा सर्वाधिक रुचाएका बान्द्रे वीरेन्द्रनगर नगरपालिकामा देखिदा धेरैले उनलाई ठम्याउनै सकेनन् । यद्यपी कतिपयले मेरी बास्सैमा खेल्ने बान्द्रे जस्तै देखिनुहुन्छ त उहाँ तर होइन होला भनेर कानेखुसी गर्थे ।

बान्द्रे सर यहाँ कसरी भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘नगर प्रमुख (मोहनमाया ढकाल) ज्यूसँग भेटघाट गर्ने कार्यक्रम छ, त्यसैले उहाँको प्रतिक्षामा बसिरहेको छु ।’ तिनै बान्द्रे एक महिनादेखि सुर्खेतमा छन् । उनी मुख्यगरी विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरुलाइ चित्रण गरी शैक्षिक सामग्री समेटिएको ‘मेरो स्कुल’ डकुमेन्ट्री फिल्म शो गर्न लागि सुर्खेत आएका हुन् ।

उनले नगरपालिका भित्रका नीजि तथा सामुदायीक विद्यालयहरु अवलोकन गरी शिक्षकहरुसंग राय सुझाव लिँदै मेरो स्कुल फिल्म समेटिएका विषय बस्तुहरु जानकारी गराइरहेको नेपालकर्मलाई जानकारी दिए ।
‘जीवनका सबै कुरा किताबका पानामा मात्र भटिदैन’– कलाकार बान्द्रेले भने, ‘बालबालिकाहरुको नकारात्मक भ्रमलाई चिर्दै दैनिक रुपमा गरिने क्रियाकलापलाई सहज र सरल ढंगले बुझाउन पर्छ । उनीहरुको जीवनसंग जोडिएको व्यवहारिक कुरा सजिलै बुझाउने उदेश्यले बनाइएको ‘मेरो स्कुल’ एक पटक देखाउन सुर्खेतमा आएको हुँ ।’
नगर प्रमुख ढकाल समक्ष उनले फिल्म बारे जानकारी गराएका छन् । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि ‘मेरो स्कुल’ फिल्म प्रदर्शन गराइरहेको बताए । नगर प्रमुख ढकाल समक्ष उनले डकुमेन्ट्री फिल्म मेराे स्कुल प्रदर्शनमा सहयाेग गरिदिन अपिल गरेका छन् ।

नगर प्रमुख ढकालले कानूनी प्रक्रिया पूरा गरेर स्कुलहरूमा फिल्म प्रदर्शन गरेकाेमा धन्यवाद दिइन् । उनले शिक्षाकाे विकासमा नगरपालिकाले विभिन्न काम गरिरहेकाले विद्यार्थीहरूका लागि जीवन उपयाेगी ज्ञान प्रदान गर्न थालिएकाे प्रयासलाइ प्रंशसा गरिन् ।
मेरो स्कुलमा जीवन उपयोगी शिक्षाका विषयहरु समेटिएको छ । जीवनको महत्वलाई बुझेर देशको असल नागरिक बन्ने बाटामो बालबालिकाहरु रहेकाले उनीहरुको दैनिक जीवनमा आवश्यक पर्ने सन्देश कलात्मक रुपमा दिइरहेको बान्द्रे बताउँछन् ।
नेपाली जनताले अत्याधिक मन पराएको मेरी बास्सै कलाकारहरुको भुमिका रहेको मेरो स्कुल फिल्म वीरेन्द्रनगरका विभिन्न विद्यालयहरुमा प्रदर्शन गरिनेछ । फिल्म एक घण्टा ४० मिनेट समयको छ ।
विद्यालयमा समय अनुकल मिलाएर डकुमेन्ट्री फिल्म मेरो स्कुल शो प्रदर्शन गरिने कलाकार बान्द्रेले जानकारी दिए । उनकाअनुसार फिल्म हेर्न प्रति व्यक्ती १५० रूपैयाँ शुल्क लिने गरिएकाे छ ।

सुशील खड्का । १६ श्रावण २०८०, मंगलवार १६:११