सुर्खेत । जाजरकोटमा १५ वर्षीय बालिका बलात्कृत भएपछि प्रहरीले नै (आकस्मिक गर्भनिरोधक चक्की) ई-कोन खानु भनेको अडियाे भाइरल गराइएकाे छ । कुशे गाउँपालिकामा ति बालिका बलात्कृत भएकाे र बालिकाकाे पेटमा बच्चा रहन सक्ने भन्दै इकाेन खान अडियाे रेकर्ड गरिएकाे भिडियाेमा भनिएकाे छ ।
तर जाजरकाेट प्रहरीले अडियाेमा कुन प्रहरीले भनेकाे भन्ने पत्ता लगाउन अनुसन्धान गरेपनि हालसम्म प्रहरीले नै भनेकाे हाे भन्ने पुष्टी भएकाे छैन् । साेही पालिकाका ३० वर्षीय दीपक रोकायाले बालिकाको घरमा कोही नभएको मौका छोपी साउन ६ गते बलात्कार गरेको आरोप लागेपछि अडियाेसमेत बाहिरिएकाे हाे ।
बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारत रहेका बेला बालिकामाथि बलात्कार भएको आफन्तले बताएका छन् । बालिकाका दाइ नाता पर्नेकाअनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ ।

कुशे गाउँपालिकामा घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा दर्ता गरे पनि घटनाबारे चासो नदेखाएको उनले गुनासो गरेका छन् । कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ‘गाउँको कुरा हो गाउँमै मिलाउँ’ भन्दै प्रहरीकहाँ नजान दबाब दिएको पीडित पक्षको भनाइ छ ।
पीडित एक जनाले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई बलात्कार गर्ने पुरुषको आमाले तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा लिएर पनि आएका थिए । घटना मिलाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबै लागिपरेका छन् ।’

सँगै बालिकालाई ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खुवाउनु भनेको भिडियो पनि सार्वजिक भएको हाे । आफन्तहरूले जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेका अडियाेमा सुनिन्छ । तर अडियाेकाे बास्तविकता अहिलेसम्म नखलुलेकाे र त्यसबारे पनि अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख सन्ताेष राेकाले नेपालकर्मलाइ जानकारी दिए
उनकाअनुसार घटना भएपछि कार्यालयमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएकाे छ । घटना लगत्तै फरार रहेका राेकायसहित दुइ जना अहिलेसम्म पक्राउ परेका छैनन् । घटनामा दुइ जना संलग्न भएकाे र दुवै जनाकाे खाेजी भइरहेकाे प्रमुख राेकाले बताए ।
यता गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने उक्त घटना मिलाउन आफूले कुनै पक्षलाई दबाब नदिएको दाबी गरेका छन् । साथै आफू जिल्ला बाहिर रहेकाले घटना मिलाउने काममा आफू संलग्न नरहेको पनि बताएका छन् ।

नेपाल कर्म । १५ श्रावण २०८०, सोमबार १९:०८