वीरेन्द्रनगरको फोहोर कसले फाल्यो ब्यूरेनी ?

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रबाट संकलित सबै प्रकारको फोहोर फाल्ने तोकिएको क्षेत्र हो तारेभीर । नगरपालिकाका वडा नम्बर १ देखि १२ वडाबाट संकलन भएको सबै फोहोर फाल्नु पर्ने अन्तिम विन्दु तारेभीर नै हो ।



तर वीरेन्द्रनगरका कतिपय व्यापारीहरुले मध्यराती फोहोर अनेत्रै फाल्ने गरेको पाइएको छ । नगरपालिकाले फोहोर संकलनका लागि गाडी पठाएपनि वीरेन्द्रनगरस्थित हटियामा रहेको सब्जी मण्डीको फोहोर सुब्बाकुनादेखि सात किलोमिटर पूर्वमा लिएर सडक किनारामा फाल्ने गरेको नगरपालिकाले जनाएको छ ।

कुनै बेला ल्याण्डफिल साइडको टुंगो नलाग्दासम्म फोहोर फालिने क्षेत्र तोकिएको भेरी सामुदायको वन क्षेत्रमै अहिले पनि दैनिक सडक किनारमा फोहोर फाल्ने गरिएको छ । रत्न राजमार्गको धुलियाविट–छिन्चु सडकको ठूलो ब्यूरेनी नजिकै सडक किनारामा फोहोर थुपारिने गरेको भेटाएपछि वीरेन्द्रनगरको ११ नम्बर वडा कार्यालयले निगरानी बढाएको छ ।

‘त्यहाँ (ब्यूरेनी) मा फाल्ने गरिएको फोहोर धुलियाविट र पिपिरा क्षेत्रबाट फालिएको हो भन्ने भ्रम फैलाउने गरिएको छ, त्यो फोहोर यहाँका कुनै पनि नागरिकले फालेका हैनन्,’ ११ नम्बर वडा कार्यालयका वडाध्यक्ष खिमलाल देवकोटाले भने, ‘तरकारी गाडीमा फोहोर लोड गरेर अध्यारोमै जथाभावी फाल्ने गरेका छन् । प्रहरी पोष्ट सुब्बाकुनालाई निगारनी बढाइदिन समन्वय गरिरहेका छौं ।’

प्रायः त्यहाँ फालिएको फोहोर सब्जी मण्डीको रहेको वडाध्यक्ष देवकोटा बताउँछन् । प्रायः व्यापारीहरूले छिन्चु, काेहलपुर वा नेपालगञ्ज सामान लिन जाने आफ्ना गाडीहरुमा फोहोर लोड गरेर जंगलमा फाल्ने गरेकोसमेत भेटिएको देवकोटा बताउँछन् ।

यसअघि पनि पटक पटक फाेहाेर थुप्रिएपछि वडा कार्यालयले डाेजर लगेर फाेहाेर पुर्दा पनि पुनः त्यहीँ ठाउँमा फाेहाेर लगेर फालिने गरेकाे छ । आलोचना बढेपछि टोलटोलमा पुगेर वडाले फोहोर जथाभावी नफाल्न र संकलित फोहोरलाई नगरपालिकाले पठाउने गाडीबाट तारेभीर नै फाल्ने गरिएको देवाकोटाले जानकारी दिए ।

‘मौखिम रुपमा सब्जीमण्डीलाई जानकारी गराइसकेका छौं,’ वडाध्यक्ष देवकोटा भन्छन, ‘मंगलबार यस विषयमा थप छलफल गर्न बैठक बस्न लागिएको छ ।’ वीरेन्द्रनगरले फोहोर डम्पिङ गर्ने ठाउँ तारेभीरमा ल्याण्डफिल साइट निर्माण गरेपनि कतिपयले मनलाग्दी फोहोर फाल्ने गरेको नगरपालिकाको भनाई छ ।

नगरपालिकाअनुसार रात परेपछि वीरेन्द्रनगरका ईत्राम, खोर्के, नारा खोला र भेडाघारी जाने सडकको बाँसघारीमा फोहोर फाल्ने गरेपछि निगरानी बढाएको छ । जथाभावी फोहोर फाल्नेको पहिचान गरेर कारवाही गरिने नगरपालिकाको भनाई छ ।

तपाईको प्रतिक्रिया