वीरेन्द्रनगर । सुत्केरी हुन नसकेपछि कालीकोटबाट गर्भवतीको उद्धार गरिएको छ। (साउन १४) गते आइतबार बेलुकाको समयमा नेपाली सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार गरिएको हो।
पचालझरना गाँउपालिका–३ की २२ वर्षीया चौपता ऐडीको उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याएको थियो।


साउन १४ गते आइतबार दिउँसो २ बजेको समयमा स्थानीय राम्नाकोट स्वास्थ्य चौकीमा पुगि चेकजाँच गर्दा गर्भवतीको स्वास्थ्य अवस्था जटिल रहेको स्वास्थ्यकर्मीले बताएका थिए।
त्यसपछि राम्नाकोट स्वास्थ्य चौकीका स्वास्थ्यमर्कीले तत्कालै गाँउपालिको कार्यालयलाई खबर गरेपछि पालिकाले गर्भवतीको उद्धारको लागि समन्वय गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कालीकोट र पालिकाको सहजिकरणमा महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार गरिएको हो।
गर्भवतीको उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा पुगे लगतै चौपता ऐडीले छोरालाई जन्म दिएकी हुन्।
हाल आमा र शिशुको शारीरिक अवस्था सामान्य रहेको चिकित्सकहरुले परिवारलाई बताएका छन्।

नेपाल कर्म । १५ श्रावण २०८०, सोमबार ०८:२०