सुर्खेत । रत्न राजमार्गको सुब्बाकुना–छिन्चु सडक खण्डको ब्यूरेनीमा २०७९ असोजमा पहिरोले सडक अवरुद्ध बन्यो । नेपालीहरुको मुख्य पर्व दशैंको दिनबाट पाँच दिनसम्म परेको पानीले ब्यूरेनीमा ठूलो पहिरो खसेको थियो । पाँच दिनसम्म पहिरोका हटाउन नसक्दा यात्रुहरुले निकै सास्ती खेपेका थिए । तर तत्कालिन समयमा सडक डिभिजन कार्यालयले अस्थायी रुपमा पहिरो पन्छाएर यातायात शुचारु गरिएको थियो ।

कार्यालयले सडकको दक्षिणतर्फ थुप्रिएको पहिरोलाई हटाएर ग्याभिन र बायो ईन्जिनियरिङबाट रोकथाम गरिएको छ । सडक किनारामा कडा चट्टान रहेको र त्योभन्दा माथि थुप्रिएको माटो हटाएर ग्याभिन वाल लगाइएको कार्यालयका ईन्जिनियर राम किसुन थारुले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार सुरुवातमा बाँकी रहेको पहिरो सडकसम्मै थुप्रिएको आँकलन गरिएपनि पहिरो हटाउने क्रममा तलको भागमा कडा चट्टान भेटिएको हो । ‘चट्टानले सडकमा पहिरो खस्नबाट रोक्ने देखिएपछि त्योदेखि माथिको खसेको सबै माटो हटाएर ग्याभिन निर्माण गरेका छौं,’ थारुले भने, ‘पहिरो गएकै क्षेत्रमा बायो ईन्जिनियरिङसमेत गरिएको छ ।’
बायो ईन्जिनियरिङ भनेको पहिरो गएको क्षेत्रमा रोकथामका लागि विरुवाहरु वृक्षारोपण गर्नुलाई जनाउछ । थुप्रिएको माटो हटाएर बाँकी क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको कार्यालयले जनाएको छ ।

पहिरो पन्छ्याउन मष्टा निर्माण सेवासँग कार्यालयले सम्झौता गरेको थियो । शुरुवातमा धेरै लगानी लाग्ने देखिएपछि ९९ लाखमा सम्झौता गरिएको हो । तर निर्माणको क्रममा सडकको भित्तातर्फ कडा चट्टान भेटिएपछि करिव २० लाख मात्रै रकम खर्च भएको इन्जिनियर चौधरी बताउँछन् ।
‘पहिरो गएको बेला पन्छ्याउनै निकै सास्ती दिएकाले सडकसम्म माटो नै बसेको होला भन्ने पूर्वानुमान ग¥यौं,’ ईन्जिनियर थारुले भने, ‘सडक अवरुद्धको समयमा सडक सुचारुमै ध्यान केन्द्रित रह्यो तर अहिले हटाउने क्रममा हाम्रो अनुमानभन्दा फरक भएपछि रकम बचेको छ ।’
यो वर्खामा पुनः पहिरो जाने जोखिम रहेकाले कार्यालयले मुख्य प्राथमिकतामा राखेर थुप्रिएको पहिरो पन्छ्याएको हो । कर्णाली प्रवेश गर्ने गेटवे नै रत्न राजमार्ग भएकाले सडकमा थप अवरोध हुने सम्भावना देखिएका ठाउँमा पहिला नै क्लियर गरिँदै आएको कार्यालयले जनाएको छ ।

नेपाल कर्म । १४ श्रावण २०८०, आईतवार ०९:३५