सहिद मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृतिमा रक्तदान

सुर्खेत । नेपालकाे निजामती कर्मचारीहरुकाे पहिलाे आधिकारिक ट्रेडयुनिया संस्था नेपाल निजामती कर्मचारी संगठनले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । सहिद मनाेज-झपेन्द्र – सुरेन्द्र स्मृति सप्ताहकाे अवसरमा विविध कार्यक्रम गरिरहेकाे  नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले शनिवार रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।



नेपालकाे पेशागत आन्दाेलनकाे क्रममा सरकार पक्षवाट वि. सं. २०४७ मा खाेटाङमा मनाेज जाेशी, २०४८ मा कास्कीमा झपेन्द्र कार्की र २०६४ फागुनमा सेवा क्षेत्रमा रहेकै अवस्थामा मुगु जिल्लामा अज्ञात समुहबाट सुरेन्द्र वि.क.काे हत्या भएकाे थियाे ।

यी सबै जघन्य घटनामा परि ज्यान गुमाई सहादत प्राप्त गरेका तीनै जना नेपालकाे पेशागत आन्दाेलनका पक्षधर तथा अगुवा भएकैले संगठनले हरेक वर्ष विविध कार्यक्रमहरू गर्दै आएकाे छ । उनीहरूकाे स्मरण तथा सम्मानका लागि २०४८ सालदेखि नै नेपालकाे निजामती कर्मचारीहरुकाे पहिलाे आधिकारिक ट्रेडयुनियन संस्था नेपाल निजामती कर्मचारी संगठनले रचनात्मक कामहरू गर्ने गरेकाे छ ।

रक्तदान कार्यक्रममा संगठन कर्णाली प्रदेश ईन्चार्ज तथा सेवानिवृत राष्ट्र सेवक संघका राष्ट्रिय समिति संयाेजक प्रयागराज शर्मा र केन्द्रीय सल्लाहकार माेहन गिरीले सहिद दिवस र  सान्दर्भिकता बारे धारणा राखेका थिए ।

कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा संगठन केन्द्रीय सदस्य शंकर भट्टराई, प्रकाश शर्मा अधिकारी, प्रदेश महासचिव राजेश आचार्य, सचिव राजेन्द्र पाेखरेल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष अमर राना, उपाध्यक्ष सन्ताेष बुढा, जिल्ला अध्यक्ष हस्तराज गिरी, पेशागत महासंघ नेपाल सुर्खेतका सचिव रेशम रेग्मी र राष्ट्र सेवक बहुद्देश्यीय सहकारी संस्था सुर्खेतका अध्यक्ष चन्द्र प्रकाश कँडेल सहभागी थिए ।

रक्तदाताहरुलाई संगठनले सम्मान पत्रसमेत वितरण गरेकाे छ । संगठन सुर्खेत जिल्ला अध्यक्ष हेमन्त चुनाराले सहिद सप्ताहकाे अन्तिम दिन तथा यहीँ साउन १५ गते सहिद दिवसकाे नेवारेमा रहेकाे मानव सेवा आश्रममा भाेजन गराउने कार्यक्रम रहेकाे जानकारी दिए ।

तपाईको प्रतिक्रिया