एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा शनिबार तीन खेल हुँदैछन्। नेपाली समयअनुसार दिउँसो सवा १ बजे हुने आजको पहिलो खेलमा स्वीडेन र इटलीबीच प्रतिस्पर्धा हुँदैछ।
समूह जीका यी दुवै टोली लगातार दोस्रो जित निकाल्दै प्रिक्वार्टर फाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छन्। इटली र स्वीडेनबीचको खेल न्यूजील्याण्डको विलिंटन रंगशालामा हुँदैन। यस्तै आजको दोस्रो खेलमा ब्राजिल र फ्रान्स आमने सामने हुँदैछन्।
नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे ब्रिसबेन अस्ट्रेलियामा समूह एफका यी दुई टिम भिड्ने छन्। ब्राजिल लगातार दोस्रो जित निकाल्दै प्रिक्वार्टर फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पहिलो जितको खोजीमा हुने छ।


पहिलो खेलमा फ्रान्सले जमैकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। ब्राजिलले भने पहिलो खेलमा पानामाविरुद्ध ४–० को जित निकालेको थियो।
यस्तै, आजै यही समूहका पानामा र जमैकाबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोली अस्ट्रेलियाको निब स्टेडियममा साँझ सवा ६ बजे आमनेसामने हुनेछन्। दुवै टिम जित निकाल्दै प्रि क्वाटरफाइनलको सम्भावना कायम राख्ने लक्ष्यमा छन्।

नेपाल कर्म । १३ श्रावण २०८०, शनिबार १४:२३