सुर्खेत । दैलेखको आठबीस नगरपालिका–६ स्थित वनमा आगलागीमा परी घाइते भएकालाई निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ। मन्त्रालयले काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल र नेपालगंजस्थित नेपालगंज मेडिकल कलेजलाई पत्राचार गरेको हो।
गत बैशाख २७ गते आठबीस नगरपालिका–६ को माल्य बुढा पहाड सामुदायिक वनमा आगलागी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गोरेटो बाटो निर्माणमा खटिएका १२ मध्ये १० जना कामदार घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको छ।
हाल घाइते प्रज बिक, बसुन्धरा बिक, नविन बिक, नैना बिक र जौकला बिकको कीर्तिपुर बर्न अस्प्तालमा उपचार भइरहेको छ।

यस्तै मोतिराम बिक र छत्रा बिकको नेपालगंजस्थित नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ।

मन्त्रालयले गरेको औषधोपचार सम्बन्धी पत्राचारमा भनिएको छ, ‘घाइतेको आर्थिक अवस्था एकदमै न्यून भएकाले निशुल्क उपचारका लागि माग भएबमोजिम स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ बुँदा नं. ७० (घ) अनुसारको औषधोपचारको व्यवस्था गरिदिनुहुन निर्देशानुसार अनुरोध छ।’
मापदण्डको बुँदा नं. ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेबारिसे बिरामीको लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याइ निशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने उल्लेख छ।
आगलागीमा घाइते भएकाको निशुल्क उपचारका लागि दैलेखबाट निर्वाचित सांसद दिक्पालकुमार शाही, सूर्यकुमारी श्रेष्ठ र सीताकुमारी रानाले संसद बैठकमा सरकारसँग माग गरेका थिए। सांसदहरुले घाइतेको निशुल्क उपचार गरिदिनुपर्ने माग गर्दै मन्त्रालयलाई पत्राचारसमेत गरेका थिए।

नेपाल कर्म । २ जेष्ठ २०८०, मंगलवार १६:४२