सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका–२ को रिपको बस्ती जोखिममा परेको छ। गएरातिदेखि परेको अविरल वर्षका कारण आएको बाढी पहिरोले बस्नी जोखिममा परेको हो।
सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)ले गएराति ११ बजेदेखि परेको पानीसँगै आएको बाढी÷पहिरोले उक्त बस्तीनै जोखिममा परेको जानकारी दिए।
उनले भने, ‘त्यहाँ ३ सय बढी घरदुरी रहेका छन्। गाउँको मान्छेहरु बाहिर निस्किन नसेको अवस्था छ। गाउँको वरिपरिका खोला नालाहरु बढेर गाउँ पसेको छ। भने भएका पुलहरु सबै बगेका छन्। अहिले मौसम सुधारिँदै गएपनि बाढी÷पहिरो भने रोकिएको छैन्।’


उनले एकिङ्ग डाटा आउन बाँकी रहेको र रिपमा २० वर्ष पहिला पनि अहिलेको भन्दा धेरै बाढी/पहिरो आएको बताए।
साथै उपाध्यक्ष कार्कीले हालसम्म मानवीय क्षती भने कुनै नभएको तर, बाढी/पहिरोले सबै उत्पादन जग्गा पुरेको जानकारी दिए।

यस्तै, सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिप सँगै ६ को जिउँसी र ८ को एउटा गाउँ गएरातिदेखिको अबिरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको जानकारी प्राप्त भएको कार्कीले बताए।
यस्तै, हुम्लामा सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले गाउँको माथिबाट पहिरो बढेका कारण उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर आउने तयारीमा रहेको जानकारी दिए।
यता कर्णाली प्रदेश सरकारले नागरिकलाई स्थान्तरणका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रदेश सरकारका कानुन मन्त्री कृष्ण जिसीले बताए।
उनले नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र केहि समयमा हुम्ला उड्ने जानकारी दिए।

नेपाल कर्म । १३ श्रावण २०८०, शनिबार १२:०३