बैंकहरूलाई मन्त्री सिंहको आग्रह : सेवा प्रवाहलाई दुर्गमलक्षित बनाउनुहोस्

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बैंकहरूलाई दुर्गम क्षेत्रलक्षित सेवा प्रवाहमा लाग्न आग्रह गरेका छन्। शाखा विस्तार र सेवा प्रवाहलाई दुर्गमलक्षित बनाउन मन्त्री सिंहले आग्रह गरेका हुन्।



मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगरस्थित यरीचोकमा नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले दुर्गम क्षेत्रका जनताको आवश्यकता र समस्यालाई सम्बोधन गर्नेगरी काम गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले पनि बैंकहरू शहरी क्षेत्रमा बढी केन्द्रित भएका छन्। कर्णालीका दुर्गम क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने देखिन्छ। बैंकको कर्जा प्रवाह पनि उत्पादनकेन्द्रित हुनुपपर्छ। हिमाली, पहाडी जिल्लामा पनि सेवा र शाखा विस्तार गर्नुस्। त्यसका लागि प्रदेश सरकारले गर्नुपर्ने आवश्यक समन्वय गर्नेछ। अब बैंकहरूले पनि उत्पादन र व्यवसायिकरणमा जोड दिनुपर्छ। दुर्गमका जनताको आवाज सुन्नुपर्छ।’

यस्तै, मन्त्री सिंहले ब्याजदर घटाउन र सहुलियत कर्जालाई प्रभावरी एवं व्यवस्थित बनाउन समेत बैंकहरूलाई आग्रह गरे। विसं १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेडका कर्णाली प्रदेशमा हाल १२ वटा शाखा कार्यालय छन्।

बैंकका कर्णाली तथा सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख विश्वराज भण्डारीले कर्णालीमा कृषि, जलविद्युत र पर्यटनका क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै आफूहरूले यस्ता क्षेत्रमा लगानी गर्ने बताए।

तपाईको प्रतिक्रिया