कर्णालीमा एमालेका यी नेताले दाेहाेराे पद मध्य एक छाड्नै पर्ने

सुर्खेत । दोहोरो जिम्मेवारी नदिने निर्णयले नेकपा एमालेका केही नेताले एक पदबाट राजीनामा दिनुपर्ने भएको छ। २०७८ कात्तिकसम्म देशका सातै प्रदेश र ७७ जिल्लाका अध्यक्ष वा सचिव निर्वाचित भएका केही नेताहरु २०७९ वैशाख र मंसिरको चुनावबाट जनप्रतिनिधि भएका थिए।



एमालेलेसंघीय र प्रदेश सांसद, पालिका/नगर प्रमुख/उपप्रमुख/ अध्यक्ष/उपाध्यक्ष निर्वाचित भएकालाई पार्टीको जिम्मेवारी नदिने योजना अघि सारेको हाे। सोही अवधारणा अनुसार असार ३० गते बसेको सचिवालय बैठकले कार्यकारी पदमा रहेकालाई दोहोरो जिम्मेवारी नदिने निर्णय गरेको थियो।

कर्णालीमा एमालेका पाँच जना प्रदेश सांसदले पार्टीकाे दाेहाेराे जिम्मेवारी मध्य एक पद छाड्नु पर्नेछ । एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद शाह प्रदेश सांसद पनि हुन्। उनले दैलेखबाट प्रदेश सभा सदस्य जितेका हुन्।

एमाले कर्णाली प्रदेश कमिटी सचिव रहेका टेकराज पछाइ पनि प्रदेश सांसद छन्। उनी जुम्लाबाट निर्वाचित भएका हुन्। एमाले मुगु जिल्ला कमिटी अध्यक्ष रहेका जीतबहादुर मल्ल कर्णाली प्रदेश सांसद पनि हुन्।

कलबहादुर हमाल प्रदेश सांसद पनि हुन् र उनी हुम्ला जिल्ला कमिटी अध्यक्ष छन्। एमाले जाजरकोट जिल्ला कमिटी सचिव वीरबहादुर गिरी बारेकोट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

यस्तै, सल्यान सचिव ओजबहादुर बुढाथोकी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष छन्। डोल्पा अध्यक्ष शेरबहादुर बुढा कर्णाली प्रदेश सांसद निर्वाचित भएका हुन्। असार ३० गतेको सचिवालय बैठकले नेताहरुलाई ‘कार्यकारी पदमा दोहोरो जिम्मेवारी नदिने’ निर्णय गरेको भए पनि तल्लो तहका कमिटीमा पठाइसकेको छैन।

केही दिनमै अन्तरपार्टी निर्देशन (अपानि) पठाइने स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए। एमालेले पार्टीका हरेक बैठकका निर्णय अपानिमार्फत् तल्लो तहमा पठाउने गरेको छ।

‘एउटै नेतालाई २ ठाउँमा कार्यकारीको जिम्मेवारी नदिने निर्णय गर्नुको मुख्य कारण पार्टी गतिविधि वा जनप्रतिनिधि बनेकाहरुको पर्फमेन्स राम्रो हुन सकेन,’ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘पार्टी संगठनलाई बलियो र प्रभावकारी बनाउन खोजिएको हो।’

एमाले आगामी आम निर्वाचनमा केन्द्रित भएर ‘मिसन २०८४’ मा लागेको छ। चार वर्षपछिको लागि एक व्यक्ति एक पदको नीति लिएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ।

‘अब हामी अर्काे चुनावको तयारीमा लागेका छौँ, त्यही अनुसार नेताहरुलाई दोहोरो जिम्मेवारी दिएर इन्गेज नगरी देखिनेगरी काम गर्न लागेका हौँ,’ अधिकारीले थपे, ‘संगठन धारिलो बनाउनुपर्छ, सबै ध्यान यसमै केन्द्रित छ।’

उनका अनुसार एक नेता एक जिम्मेवारीले कतिपय आशंका र सन्देह हल गर्नेछ। ‘दोहोरो जिम्मेवारी लिने नेताले राम्रोसँग काम नगरेको भन्दै नेतृत्व र कार्यकर्ता सन्तुष्ट हुन सकेका छैनन्। कतिपय जिम्मेवारीमा रहेका नेताले दोहोरो जिम्मेवारी राम्रोसँग निभाउन नसकेको टिप्पणी भइरहेको छ,’ अधिकारीले भने, ‘कार्यकारी पदलाई राम्रोसँग चलाउन नसके पार्टी बलियो बन्दैन र असन्तुष्टि पनि चुलिन्छ।’

जेठ २० गते एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको थियो। जसअनुसार सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी सचिवलाई खटाइएको छ। जसअनुसार कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरु बराल, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा छन्।

यस्तै, संगठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी तोकिएको छ। यसैगरी जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलका स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई दिएको छ। केन्द्रीय कमिटी सदस्यलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिएको छ। एमाले गाउँपालिका र वडा तहमा पनि केही नेताहरुले दोहोरो जिम्मेवारी लिइरहेका छन्।

तपाईको प्रतिक्रिया