सुर्खेत । कर्णालीका १० जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी भएको छ। आइतबार र सोमबार सुरु भएको गोष्ठीमा आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभर गरेका गतिविधिको प्रगति विवरण सार्वजनिक गरिएको छ।
आइतबारको कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका कार्यालय प्रमुखहरूले वर्ष भरी गरेका गतिविधि तथा कार्यक्रम र तीनको प्रगति विवरण सार्वजनिक गरेका थिए।


कुन जिल्लाको प्रगति कति ?
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्दबहादुर महतले ८७.६ प्रतिशत वार्षिक प्रगति गरेको बताए। उनकाअनुसार सल्यानमा बेरुजु रकम शून्य रहेको छ। उनले सल्यानमा भनेअनुसार जनशक्ति, प्राप्त श्रोत साधन केन्द्र समेत नभएको गुनासो गरे।
यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमका प्रमुख ज्ञानुप्रसाद शर्माले ५४.१५ प्रतिशत वार्षिक प्रगति गरेको बताए। उनकाअनुसार रुकुममा माछा मासुका साथै दूध उत्पादन जिल्लामा वृद्धि हुँदै गएको छ। केही वर्षयता माछा मासुमा जिल्ला आत्मनिर्भर बन्दै गएकाले जिल्ला बाहिरको आस गर्नु नपर्ने उनको भनाई छ।
यस्तै, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले ७८.८२ प्रतिशत वार्षिक प्रगति गरेको बताउँदै उनले जिल्लामा ५ जना कर्मचारीको दरबन्दी रिक्त रहेको बताए। उनले जिल्लामा सवारी साधन पुरानो र मर्मतको बजेट कम विनियोजन भएकोले काम गर्न पनि समस्या भएको बताए। विष्टले एक सय ९७ जना कृषक व्यावसायिक भएको, ४९ जना युवा कृषि रोजगारीमा संलग्न भएको जानकारी दिए।

पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका भीमचन्द्र बुढाले ८८.५ प्रतिशत प्रगति गरेको बताए। उनले पनि जिल्लामा कर्मचारीको अभाव रहेको बताए।
१० वटै जिल्लाका कर्मचारीहरूले जिल्लामा कर्मचारीको अभाव भएको र काम गर्नमा पनि निकै समस्या भएको गुनासो गरेका छन्।
उनीहरूले मन्त्रालयबाट संशोधित कार्यक्रम समयमा प्राप्त नहुनु, कृषकको सोचमा परिवर्तन नआउनु, सरकारका तीनै तहसँग सहकार्य र समन्वय गरी प्रभावकारी कार्यक्रम गर्न समयको अभाव हुनु लगायत अन्य थुप्रै समस्याहरू सुनाए।
कार्यक्रममा कर्णालीका कृषि मन्त्री शर्माले जिल्लाको भूगोल अनुसार विभिन्न कार्यक्रम र बजेट विनियोजन गर्न सबैमा आग्रह गरेका छन्। कार्यविधि र मापदण्डलाई आधार बनाएर कार्यक्रम गर्न सबैमा उनले अनुरोध समेत गरे।
साथै उनले प्रदेशमा मन्त्री कर्मचारी र स्थानीय तहका कर्मचारी जनप्रतिनिधि सबै एकजुट हुन आवश्यक रहेको बताए। मन्त्री शर्माले मन्त्रालयबाट पेस भएको बजेट समेत किसानले नपाएको बताए। उनले भने, ‘वास्तविक किसानले यहाँबाट पठाइसकेको समेत बजेट पाउन सक्नु भएको छैन। यसको जिम्मेवारी कसले लिने? कतै पठाएको बजेट उहाँहरूले पाउनु हुन्न। कति रकम फ्रिज भएर गइसक्यो, त्यसैले सबैले सरकार भएको अनुभूति हुने गरी काम गर्न र दिएको बजेट सबै किसानलाई दिन अनुरोध गर्छु।’
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव नरहरि प्रसाद घिमिरे, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. विकास श्रेष्ठ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेत योजना महाशाखा प्रमुख राजु भुज, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेत पशुपन्छी विकास महाशाखा प्रमुख प्रचण्ड खड्का लगायतको उपस्थिति रहेको थियो ।

नेपाल कर्म । ८ श्रावण २०८०, सोमबार १५:३४