दैलेखी रोड कालाेपत्रेकाे हलो कहाँ अड्कीयो ?

सुर्खेत । समाजसेवी खगेन पुरीले वीरेन्द्रनगर बजारको चिल्लो सडकको तस्वीर राख्दै सामाजिक सञ्जालमा ब्याग्यात्मक शैलीमा बाबा–छोरीको संवाद राखेका छन् । संवादमा पुरीलाई छोरीले प्रश्न गरेकी छन्, ‘यो चिल्लो बाटो (मुख्य बजारको सडक) जस्तै हाम्रो घरतिर पनि यस्तै बनाउन मिल्दैन हेर्नू न हजुरले बाइक चलाउदासमेत उफारेर हात खुट्टा दुख्छ बाइकबाट खसिन्छ कि जस्तो हुन्छ नि ! कसले बनाउने हो छिटो बनाइदेउ भन्नू न ?’



प्रतिउत्तरमा पुरीले मिल्छ पालैपालो बन्छ नी भन्दा छोरीको ब्याग्यात्मकशैलीमा प्रश्न छ, ‘कहिले पालैपालो भन्नुहुन्छ हामी ठुलो भएपछि हो ।’ त्यसपछि छोरीको प्रश्नमा पुरी मौन रहेको र अर्को आर्थिक वर्षमा त कसो नबन्ला र भन्ने जवाफ दिएर टारेका उल्लेख गरेका छन् ।

प्रशंग कर्णालीको राजधानी वीरेन्द्रनगस्थित खजुरामा रहेको निर्माणाधिन शिमलचोक–अशोका होटलको उत्तरतर्फको सडकको हो । जिरो प्वाइन्ट नक्साङ्कन गरिएको दैलेख रोडको सडक कालोपत्रे नहुँदा चौतर्फी पुरीले मात्रै हैन धेरैले आलोचना गरिरहेका छन् । फोरलेन सडक खण्डको होटल अशोकाको उत्तरीदेखि सिमलचोकसम्मको सडक वर्षौदेखि कालोपत्रे नहुँदा जनस्तरमा आलोचना बढेको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतको क्षेत्रधिकार रहेको यो सडक निर्माणको जिम्मा नाञ्जिला आकाँक्षा एण्ड मजदुर जेभीले पाएको हो । २०७८ कार्तिक ७ गते सम्झौत गरिएको सडक २०७९ असार ३० गते सकिसक्नु पर्ने सडक हो । तर कार्यालयले थप एक वर्ष म्याद थमाएर २०८० असार ३० गतेसम्म तोकिदिएपनि अझै सडक कालोपत्रे गरिएको छैन् ।

कुल ६५० मिटर लम्बाई रहेको सडक समयमै नसकिँदा सडक किनाराका नागरिकहरु धुलो खान बाध्य छन् । सडक निर्माणको सुरुवातमा विद्युत पोल र रुखको अवरोध देखाएको निर्माण व्यवसायीले वेश विछ्याएपनि कालोपत्रे नगर्दा सामाजिक सञ्जालमा चर्को आलोचना बढ्दो छ ।

शुरुमा १४ मिटर चौडाई कालोपत्रे गर्ने भनिएपनि पछि १९ मिटर पु¥याउनु पर्ने स्थानीयको माग छ । ‘शुरुमा पोल र रुखको कारणले म्याद थप गरियो, पछि नाला निर्माणमा पनि विवादै भयो,’ कार्यालयमा इन्जिनियर राम किसुन थारुले नेपालकर्मसँग भने, ‘सबै समस्या समाधान गर्दा पनि निर्माण व्यवसायीले कालोपत्रे गर्नुहोस् भनिरहकै बेला वर्षात् लाग्दा काम रोकियो ।’

हाल निर्माण व्यवसायीले सामग्री अभावको कारण देखाइरहेको छ । तर, कार्यालयले असारमै काम सक्न ताकेता गर्दापनि निर्माण व्यवसायीले चालु आर्थिक वर्षको चैतसम्म म्याद थपको लागि निवेदन दिएको छ ।

‘ठेक्का तोडौं अर्को आह्वान गर्दासम्म धेरै जटिलताहरुले अझै नागरिकहरुले सास्ती खेप्नुपर्छ,’ इन्जिनियर थारुले थपे, ‘बरु दशैंसम्म काम सक्नेगरी लाग्नुहोस् भनेर निर्माण व्यवसायीलाई अनुरोध गरिरहेका छौँ । सम्भवत् दशैं अगाडीसम्म कालोपत्रेको काम सम्पन्न हुन्छ ।’

सोही निर्माण व्यवसायीले दैलेख सडक खण्डको वीरेन्द्रनगरस्थित शिवालय चौकबाट कपासे चौकसम्मको ९०० मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको छ । सडकको दुवैतर्फ तीन/तीन मिटर कालोपत्रे गर्नेगरी कार्यालयले ठेक्का गरेको छ । उक्त काम पनि अलपत्र अवस्थामा रहेको कार्यालयको भनाई छ । एउटै ठेक्कामा दुवै सडकको कुल लागत चार करोड बढीको छ ।

तपाईको प्रतिक्रिया