कर्णालीका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत । गत वैशाख ७ गते नियुक्त भएका कर्णालीका तीन जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्री नियुक्त भएको ९४ दिनपछि सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, अर्थमन्त्री बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीको सम्पत्ति विवरण सार्वजनिक भएको हो।



उनीहरू तीनै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन्। सम्पत्ति विवरण अनुसार अर्थमन्त्री सिंह धनी देखिएका छन्। जाजरकोटको बारेकोट निवासी सिंहसँग सोही वडाको–८ नम्बर वडामा पुर्ख्यौली २ वटा घर छन्। यस्तै भेरी नगरपालिका–३ मा साढे तीन तलाको पक्की घर रहेको छ। उक्त घरको स्रोत पुर्ख्यौली नै रहेको उनले उल्लेख गरेका छन्।

सिंहको नाममा बारेकोट–८ मै ३ रोपनी जग्गा छ। उक्त जग्गा अंश भाग रहेको र बाँकेको कोहलपुर–६ मा १.५ कट्टा जमिन रहेको छ। उनले उक्त जग्गा ऋण सापट गरेर जोडेको उल्लेख गरेका छन्। चल सम्पत्तिमा सिंहसँग २० तोला सुन छ भने १५ तोला चाँदी रहेको छ। सुन विभिन्न स्रोतबाट रु. ५ लाखमा खरिद गरेको उल्लेख गरेका छन् भने चाँदी ५० हजारमा खरिद गरिएको उल्लेख छ।

यस्तै, उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबि बैङ्क सुर्खेतमा सेवा सुविधा बापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन्।

उनले धितो पत्र, शेयर वा ऋणपत्र विवरण शीर्षकमा शेयर लगानी उल्लेख गरे पनि कुन कम्पनी भन्ने उल्लेख गरेका छैनन्।

उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेण्डर गाडी रहेको छ भने ३२ लाख पर्ने बोलेरो जिप पनि रहेको छ।

यस्तै, २ लाख ५ हजार बराबरको स्कुटर पनि राखेका उनले उक्त सम्पत्ति व्यवसायबाट जोडेको उल्लेख गरेका छन्। तर, कुन व्यवसायमा संलग्न छन् भन्ने कुरा उल्लेख गरिएको छैन्। उनीसँग २ लाख मूल्यका विभिन्न १० वटा मोबाइल पनि रहेका छन्।

यस्तै, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीसँग दैलेख गुराँस गाउँपालिका–६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर रहेको छ भने वीरेन्द्रनगरमा २ ठाउँमा उनको घर छ। त्यो सबै पुर्ख्यौली सम्पत्ति रहेको उनले उल्लेख गरेका छन्।

उनीसँग विभिन्न ६ ठाउँमा जग्गा जमिन रहेको छ। उनको नाममा गुराँस गाउँपालिका–६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ। त्यसको स्रोत पनि उनले पैत्रिक सम्पत्ति नै उल्लेख गरेका छन्।

उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा रहेको छ। त्यो पनि पैत्रिक सम्पत्ति भएको जनाएका छन्। उनको तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको छ। साथै उनीसँग त्यो भन्दा बढी ऋण रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय वाणिज्य बैङ्कबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेको उल्लेख छ। एनएमबि बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए। त्यसमध्ये अहिलेसम्म १ लाख बराबर ऋण तिरिसकेका छन् भने बाँकी उनीसँग २८ लाख ऋण छ।

यस्तै, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलसँग पनि प्रशस्त सम्पत्ति रहेको देखिएको छ। सुर्खेतको सिम्ता निवासी पोखरेलसँग सिम्ता–६ मा एउटा घर छ, जुन घर पैत्रिक सम्पत्ति हो।

सिम्तामै उनको विभिन्न ९ ठाउँमा जग्गा रहेका छन्। उक्त जग्गा पनि पुर्ख्यौली सम्पत्ति नै रहेको उल्लेख गरेका छन्। उनीसँग २५ तोला सुन ६० तोला चाँदी रहेको छ। सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैत्रिक सम्पत्ति र चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन्। उनीसँग लक्ष्मी बैङ्क सुर्खेतमा १ लाख ७० हजार रकम मौज्दात छ।

उक्त रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन्। उनले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेका छन्। साथै उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टिभी २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको उल्लेख गरेका छन्। उक्त सामाग्री विभिन्न ठाउँबाट खरिद र उपहार आएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया