‘जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली’ कार्यक्रम शुभारम्भ

काठमाडाैं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘जहाँ श्रमिक त्यहाँ जिफन्ट डिजिटल्ली’ प्राणालीको शुभारम्भ गरेको छ । जिफन्टको ३४ औं स्थापना दिवसको अवसरमा एक समारोहका वीच राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठले जिफन्ट एक्सन रूम मार्फत संसारभरीका श्रमिकहरूसँग सम्पर्क गर्ने डिजिटल प्रणाली घोषणा गरिएकाे हाे ।



अनामनगरस्थित जिफन्ट ट्रेड यनियन स्कुलमा स्थापना गरिएको एक्सन रूमबाट संसारभरका श्रमिकहरुलाई लक्षित गरी बैठकहरु, शिक्षाका कार्यक्रमहरु, दिवस तथा समारोहहरु मनाउने र विश्वको जुनसुकै कुनामा रहेका श्रमिकहरूसँग दोहोरो सम्वाद गर्न सकिने छ ।

अध्यक्ष श्रेष्ठका अनुसार अब एप्स, वेभसाइट, अत्याधुनिक कल सेन्टर जस्ता सूचना प्रविधिको प्रयोग गरी मजदुरका गुनासा र समस्यालाई सम्बोधन गर्न जिफन्ट सक्षम रहेको बताए । स्थापना दिवसको अवसरमा भर्च्युअल सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय विकास निर्माणको बजेट कटौतीले गर्दा रोजगारीहरु खोसिँदै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले आन्दोलन र सिबिए मार्फत आर्जन गरेका होटेल सेक्टरको १०५ सर्विस चार्ज अदालतको आडमा श्रमिक वर्गसङ्ग कुनै सरसल्लाह बेगर खारेज गरिदिएकोमा आपत्ति जनाए । ‘श्रमिकको अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षामा गर्नुपर्ने योगदान छल्न पार्टटाइमर, आउट सोर्सिङ, तालिमे तथा श्रम स्विकृती नभएका विदेशी कामदारको संख्या बढ्दोछ।’ उहाँले सम्बोधनमा बताए ।

श्रेष्ठले वास्तविक ट्रेड युनियनहरुलाई छायाँमा पार्न नक्कली युनियनहरुको खेती हुँदै गएकोमा सचेत रहन समेत आग्रह गरे । जिफन्टलाई ‘भरोसायोग्य युनियन आन्दोलनको जन्म दिने’ ट्रेड युनियनको रुपमा गर्वका साथ लिने र त्यसलाई व्यबहारमा पुष्टि गर्ने प्रतिवद्दता व्यक्त गर्दै श्रमिकको हक र हितका लागि गरि आएका कामहरुलाई अझ उन्नत गर्दै यो कार्यकालमा जिफन्टको कायाकल्प गर्ने लक्ष्य रहेको बताए ।

तपाईको प्रतिक्रिया