बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर पुष्टी भएकाे छ । निकुञ्जमा पछिल्लाे दुई सातामा चार वटा बँदेल मरेपछि गरिएकाे परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टी भएकाे हाे ।
बँदेलको पोष्टमार्टमपछि प्राप्त नमूनाको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएकाे थियाे । प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश प्रसाद जोशीका अनुसार निकुञ्जमा मृत फेला परेको बँदेलको पोष्टमार्टम गरी रोग यकिन गर्न नमूनाहरु संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको हाे ।
निकुञ्जभित्र केही दिनअघि दुइ जंगली बँदेल मृत अवस्थामा फेला परेपछि निकुञ्ज प्रशासनले पोष्टमार्टम गरि रोग यकिन गर्न परीक्षणका लागि पशुपंक्षी रोग अन्वेषष प्रयोगशाला धनगढीमा पठाएको हो । नेपालमा जंगली बँदेलमा पहिलो पटक गत फागुन १९ मा शुक्लाफॉटा राष्ट्रिय निकुञ्जमा मृत फेला परेको बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टी भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले निकुञ्जभित्र सुरुमा ८/१० दिनअघि दुई बँदेल मृत फेला परेको र दोस्रोपटक ४ दिनअघि मात्रै थप २ बँदेलसमेत गरी हालसम्म ४ वटा बँदेल मृत फेला परेको जानकारी दिए ।

‘चार महिनाअघि पहिलो पटक निकुञ्ज बाहिरको बस्तीमा बंगुरमा यो रोग देखा परेको थियो,’ उनले भने, ‘ संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनु पर्ने अवस्था देखियो ।’ उनका अनुसार जंगलमा रहेका बँदेललाई आइसोलेसनमा राख्न सकिने अवस्था नभएकोले नजिकको बस्तीमा पसेर घरपालुवा बंगुरमा पनि रोगको संक्रमण फैलिने अवस्था देखिएकोले सतर्कता अपनाउनुपर्ने भएको हो ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. जोशीका अनुसार नेपालमा अफ्रिकन स्वाइन फिभर पहिलो पटक २०७९ जेठ २ मा काठमाडौं उपत्यकामा देखिएको हो । ‘कैलालीको भजनी क्षेत्रमा २०७९ कात्तिकमा यो रोगको संक्रमणबाट एउटै फर्मका ४ सय बढी बंगुर मरेका थिए । त्यसपछि कैलाली र कञ्चनपुरमा हालसम्म ४/५ हजारको संख्यामा बंगुर मरेका छन्,’ डा. जोशीले भने ।

नेपाल कर्म । ६ श्रावण २०८०, शनिबार ०६:१४