सुर्खेत । कर्णालीबासीलाई अब प्रदेश राजधानी वीरेन्द्रनगरमा कहाँ बस्ने भन्ने चिन्ता लिनुपर्ने छैन्। किनकी अब वीरेन्द्रनगरमा आउने कर्णालीबासीका लागि प्रदेश सरकारले पाहुना घर (अथिति गृह) निर्माण शुरु गरेको छ ।
वीरेन्द्रनगरमा बन्दै गरेको यहीँ आवास गृहमा अब कर्णालीका विभिन्न जिल्लाबाट प्रदेश राजधानी आउने व्यक्तिहरुले बस्न पाउनेछन् । विभिन्न कामका लागि वीरेन्द्रनगर आउने सर्वसाधारणले सहजै होटलमा बास नपाउने र आर्थिक अभावका कारण बस्न नसक्नेहरुका लागि यो गृह निर्माण गर्न लागिएको हो ।
पाहुना घर निर्माण सम्पन्न भएपछि वीरेन्द्रनगरस्थित राम मन्दिर नजिक बन्दै गरेको यो भवनमा राजधानी बाहिरबाट आउनेहरुले सहज रुपमा बास बस्न पाउनेछन् ।


राम मन्दीर परिसरमा हाल बनिरहेको भवनको पहिलो तलाको काम जारी छ । एक करोड ९३ लाख लागतमा बन्ने भवन निर्माणको जिम्मा सुरेन्द्र निर्माण सेवाले पाएको छ । चार तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) वीरेन्द्रनगर नगरपालिकाले तयार गरेको हो ।
‘अथिति गृहको फाउण्डेशनको सेटअप सकिएको र संरचना उठाउने काम भइरहेको छ,’ शिक्षा विकास निर्देशनालयका ईन्जिनियर हिमाल रावतले भने, ‘अबको तीन महिनामा पहिलो तलाको काम सम्पन्न गर्नेगरी लागिरहेका छौं ।’
डिपिआर अनुसार अथिति गृहमा चार तलाको भवन निर्माण गरिनेछ । पहिलो तलामा किचन र डाइनिङ्ग हल र ट्वाइलेट वाथरुम रहनेछ । बाँकी दोस्रो र तेस्रो तलामा बासका लागि २८ ओटा कोठा रहनेछन् ।

यी कोठामा दुई–दुई जनाका दरले ५६ जना सुत्न मिल्नेगरी डिजाइन गरिएको निर्देशनालयका इन्जिनियर रावत बताउँछन् । पार्किङसहितको भवनको तेस्रो तलामा अफिस रहनेछ । अथिति गृहको क्षेत्रफल ४७२ स्क्वाइर वर्गमिटर छ । कर्णालीका तत्कालिन मुख्यमन्त्री जीवनबहादुर शाहीले राम मन्दीरमा अथिति गृह र उत्तरगंगा मन्दीरमा क्रियापुत्री बस्ने घर निर्माणका लागि बजेट विनियोजन गरेका हुन् ।
‘वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिरबाट आएका नागरिकहरुलाई सस्तो र कम खर्चमा बस्न मिल्नेगरी अथिति गृहको अवधारणा अघि सारिएको हो,’ निर्देशनालयका निर्देशक दिपा हमालले भनिन्, ‘दुर्गमका जिल्लाबाट वीरेन्द्रनगर आउने सबैको क्षमता होटलमा बस्न सक्ने हुँदैन्, उनीहरुको सहजताका लागि निर्देशनालयले भवन निर्माणको काम गरिरहेको छ ।’ विस्तृत परियोजना प्रतिवेदनअनुसार चार तलाको अथिति गृह भवन बन्न करिव १० करोड लागत लाग्नेछ । पूर्ण रुपमा भवन सम्पन्न हुन अबको दुई वर्ष लाग्ने निर्देशक हमाल बताउँछिन् ।

निर्माणाधिन अथिति गृह र क्रियापुत्री भवनको प्राविधिक पाटो हेर्दै आएका प्राविधिक शेरबहादुर महताराकाअनुसार भुकम्परहित भवन निर्माणलाई छिटो सक्न निर्माण व्यवसायीलाई ताकेता गरिएको छ । पहिलो तलाको काम सकिएपछि लगत्तै बाँकी तलाहरुको काम सम्पन्न गर्न प्रदेश सरकारसँग रकम माग गरिने निर्देशनालयले जानकारी दिएको छ ।
भवन निर्माणपछि मात्रै सञ्चालन कार्यविधि बनाइने निर्देशक हमालको भनाई छ । ‘पहिला त भवनको काम सम्पन्न गर्नुछ,’ हमालले थपिन्, ‘वीरेन्द्रनगर वा वडा कार्यालय कसले भवन सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर टुंगोमा पुग्नेगरी अहिले भवन निर्माण सक्नमा केन्द्रित छौं ।’
वीरेन्द्रनगर–३ उत्तरगंगामा ९१ लाख ६३ हजार लागतमा क्रियापुत्री भवन निर्माण भइरहेको प्राविधिक महताराले जानकारी दिए । उनले पाँच कोठा रहेको भवन एक तलाको रहनेछ । भवन निर्माणपछि कोठा भाडामा बस्दै आएका वा विपन्न सामुदायका नागरिकहरुलाई मन्दीर परिसरमै क्रियापुत्री बस्न सहज हुने अपेक्षा प्रदेश सरकारको छ । यो भवन निर्माणको काम असोजसम्म सम्पन्न हुने प्राविधिक महतारा बताउँछन् ।

सुशील खड्का । ५ श्रावण २०८०, शुक्रबार १५:०८