सुर्खेत । दोस्रो लुम्बिनीको उपमा पाएको ऐतिहासिक काँक्रेविहार जाने ‘मंगलगढी–लाटीकाईली’ सडक मुख्य मार्ग हो । काँक्रेविहारको पुनर्निर्माणसँगै यहीँ मार्ग भएर काँक्रेविहार हेर्न र शिव मन्दीर दर्शन गर्न जानेहरुको संख्यामा बढोत्तरी भएको छ ।

करिव दुई वर्ष अघि नै यो मार्गलाई कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको हो । तर यो मार्ग भएर काँक्रेविहार र शिव मन्दीर पुग्नेहरु मात्रै हैन लाटीकोइली, अलायचौर लगायतका नागरिकहरुले समयमै सडक सम्पन्न नहुँदा सास्ती खेप्न बाध्य छन् ।
प्रदेशको पूर्वाधार विकास निर्देशनालयले यो सडक निर्माणका लागि अमर सिस्ने नेपाल मेघा जेभी बाँकेसँग २०७८ मंसिर १४ गते सम्झौता गरेको हो । सम्झौता बमोजिम यो सडक २०८० असार १५ गतेसम्म कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण गरिसक्नु पर्ने हो । तर सडक कालोपत्रे नगरेर आगामी फागुन २० गतेसम्म निर्देशनालयले म्याद थप गरिदिएको छ ।

‘स्थानीयको जग्गा विवादका कारण निर्धारित समयमा सडक कालोपत्रे गर्न सकिएन्,’ निर्देशनालयका सव–ईन्जिनियर प्रेमचन्द पाण्डेले भने, ‘कतिपय अवस्थामा निर्माण व्यवसायीको पनि लापरवाही रह्यो । बढी त स्थानीयले नै हातपात गर्नेसम्मका घटनाहुँदा प्रशासनकै सहयोगमा नाला निर्माण गर्नु बाध्यता आयो, अब जसरी पनि काम सक्न ताकेता गरेका छौं ।’
मंगलगढी चौकदेखि शिव मन्दीरसम्म २४ सय ५० मिटर सडक कालोपत्रका लागि नाला निर्माणको काम अन्तिम चरणमा छ । बौद्ध सहकारीको पूर्वतर्फ रहेका दुई घरधनीले अझै नाला बनाउन अवरोध गरेको पाण्डे बताउँछन् ।

‘शिक्षित र बुझेकै व्यक्तिहरुलाई बुझाउन सकिएको छैन्,’ पाण्डेले थपे, ‘अझै ४५ मिटर नाला निर्माणमा अवरोध नै छ । नगरपालिका र वडा कार्यालयलाई साइट क्लियर गरिदिन अनुरोध गरेका छौं ।’
१२ करोड ७६ लाख ठेक्का सम्झौतामा निर्माण व्यवसायीले हालसम्म ४५ प्रतिशत रकम भुक्तानी लगिसकेको छ । मंगलगढीदेखि नवज्योति स्कुलसम्म सडकको विचमा क्यारीको काम सम्पन्न भएकाले दशैं अगावै कालापत्रे गरिने निर्देशनालयले जनाएको छ ।
निर्माण व्यवसायीले नवज्योतिदेखि शिव मन्दीरसम्मको क्यारी बनाउन सामग्री ल्याइसकेकाले फागुनसम्म निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण हुनेमा निर्देशनालयको अपेक्षा छ । ‘पर्यटकसँगै स्थानीयहरु ओहोरदोहोर गर्ने मुख्य सडक भएकाले आलोचना अलि बढी नै भइरहेको छ,’ सव–इन्जिनियर पाण्डे भन्छन्, ‘अब जसरी नि काम सम्पन्न गर्न वीरेन्द्रनगर नगरपालिका, स्थानीय प्रशासन, वडा कार्यालय र निर्देशनालय लागिरहेकाले यो नै अन्तिम म्याद भएकाले काम सक्छौं ।’

सुशील खड्का । ३ श्रावण २०८०, बुधबार १५:००