कर्णालीको शिलाजित अब सुर्खेतमा प्रशोधन

सुर्खेत । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर कर्णालीका हिमाली भेगमा पाइने शिलाजितलाई अब सुर्खेतमै प्रशोधन गर्न लागिएको छ । वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालले शिलाजितसहित विभिन्न प्रजातिका औषधीहरु सुर्खेतमै प्रशोधन र उत्पादन गर्ने गृहकार्यमा जुटेको छ ।



अस्पतालले औषधी उत्पादन र प्रशोधनका लागि नयाँ भवन निर्माण गरेपछि कर्णालीमा पाइने जडिवुटीको अब कर्णालीमै उपयोग गर्न लागिएको हो । अस्पतालका प्रमुख डा. शंकर रिजालका अनुसार नयाँ भवन निर्माण सकिएपछि औषधी उत्पादन र शिलाजित प्रशोधनका लागि मेशिनरी सामग्री राख्ने तयारी थालिएको छ ।

‘भवन नहुँदा नै सिमित स्रोत साधनबाट ११ प्रकारका औषधी उत्पादन गरिरहेका थियौं,’ डा. रिजालले नेपालकर्मसँग भने, ‘पूर्वाधारमा सक्षम बनेपछि कर्णालीमा रहेका जडिवुटीबाट अधिकतम आयुर्वेद औषधीहरु उत्पादन गर्ने गृहकार्यमा जुटेका छौं ।’

एक करोड ९५ लाख लागतमा नयाँ भवन निर्माण गरिएको हो । कर्णालीकै जटिवुटीबाट आयुर्वेद औषधी उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्य अस्पतालको छ । उत्पादित औषधी स्थानीय बजार र अन्य प्रदेशसम्म निर्यात गर्ने योजना रहेको डा. रिजाल बताउँछन् ।

आवश्यक मेशिनरी औजारका लागि प्रदेश सरकारले एक करोड ७० लाख बजेट विनियोजन गरेको छ । केही महिनामै टेण्डर आह्वान गरेर पूर्ण क्षमताको औषधी उत्पादन र प्रशोधन कार्यलाई शुरुवात गरिने रिजालको भनाई छ ।

के हो शिलाजित ?
हिमाली तथा पहाडी क्षेत्रका ठूला पत्थर तथा चट्टानको कापबाट निस्कने एक किसिमको धातु नै शिलाजित हो । जेठ, असारको महिनामा जब हिमालयमा रहेको चट्टानमा घामको ताप पर्छ, तब त्यसबाट एक किसिमको पदार्थ पग्लिएर निस्कन्छ ।

हेर्दाखेरी यो अलकत्रा जस्तो कालोर गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ। आयुर्वेदमा शिलाजीतलाई प्रमुख औषधिका रुपमा मानिन्छ । यसलाई जडीबुटीहरूको राजा पनि मानिएको छ ।

बल पुष्टिकारक, ओजवद्र्धक र दौर्बल्यनाशक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीत रोगी व्यक्तिहरुको लागि मात्र नभइ स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । शिलाजितमा मिनरल अत्याधिक पाइन्छ । यो अत्यान्तै गुणकारी मिनरल सप्लीमेन्ट हो, जसले मृगौला, मुत्र प्रणाली आदिलाई चुस्त राख्न सहयोग गर्छ ।

साथै, यौन दुर्वलता अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन् । शिलाजीत गहुतरगोमत जस्तो गन्ध आउँछ। शिलाजीतले शरीरलाई बल दिएर स्वस्थ शक्तिशाली र पुष्ट बनाउँछ ।

शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर पनि खान सकिन्छ । यसको उचित प्रयोगले मानव शरीरमा लाग्ने आन्तरिक तथा बाह्य रोग निर्मूल हुने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया