सुर्खेत । सुर्खेत पश्चिमको भेरी र कर्णाली दोभानमा तिनमुखे पुल बनाउन लागिएको छ । कुनै बेलाको हटारु मार्गको रुपमा परिचित कुइने क्षेत्रको भेरी र कर्णाली नदीमा पक्की पुलसँगै सवारी आवागनहुँदा पर्यटकीय रुपमा चिनाउन दोभानमा तिनमुखे पुल बनाउन लागिएको हो ।

धार्मिक र पर्यटकीय रुपमा प्रख्यात पश्चिम क्षेत्रलाई थप प्रचारप्रसार गर्न भेरी र कर्णाली नदीको दोभानमा तिनमुखे झोलुङ्गे पुल निर्माण गर्न पञ्चपुरी नगरपालिकाले पहल गरेको छ ।
तिनमुखे पुल निर्माणका लागि झोलुङ्गे पुल महाशाखामा गरिएको प्रस्ताव स्वीकृत भएकाले चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्न लागिएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारीले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार दोधानमा बन्ने पुलले कैलालीको महोन्याल गाउँपालिका सुगरखाल, पञ्चपुरीको कुइने र चौकुनेको घाटगाउँ जोड्नेछ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार र माटो परीक्षणको काम यसै वर्ष सकेर निर्माणको लागि शुरु गरिने प्रमुख भण्डारी बताउँछन् ।

पुल निर्माणपछि हेर्न आउन पर्यटकहरुलाई भेरी–कर्णाली दोभानको पुलसँगै जुम्लाको चन्दननाथ मन्दीरसम्म पुग्ने धार्मिक करिडोरका रुपमा स्थापित गर्नेमा नगरपालिका लागेको भण्डारीको भनाई छ ।
उनले दोभानमा स्नान गरेपछि पञ्चपुरी क्षेत्रका धार्मिक क्षेत्रको अवलोकनसँगै दैलेखको पञ्चकोशी क्षेत्रहुँदै जुम्लासम्म पुग्न सहजताका लागि नगर क्षेत्रका सडकहरुलाई समयमै सम्पन्न गर्न लागि परेको बताए ।
पञ्चपुरीमा भएका जाजुरा दह, गप्ती ताल, चमेरी गुफा, शिवधाम लगायतको धार्मिक र पर्यटकीयस्थलहरु छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक स्तरोन्नतीदेखि सडक पक्की निर्माण गर्नमा पहल गरिरहेको जनाएको छ ।

नेपाल कर्म । २ श्रावण २०८०, मंगलवार १७:३३