कर्णालीमा सकियो ६५ प्रतिशत रोपाइँ

सुर्खेत । कर्णाली प्रदेशभर हालसम्म ६५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। कर्णालीमा कुल ४८ हजार एक सय ३३ हेक्टर बढी जग्गामा धान रोपाइँ हुन्छ । जसमा ३१ हजार दुई सय ८६ हेक्टर जमिनमा धान रोपाइँ भएको हो। असार १५ गतेसम्ममा कर्णालीमा ३९.२५ प्रतिशत धान रोपाइँ भएको थियो।



जिल्लागत तथ्यांक हेर्ने हो भने जुम्ला धान रोपेर सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयको कृषि विकास निर्देशनालयकाअनुसार जुम्ला जिल्लामा चैत महिनामै धान रोप्ने भएकाले यहाँ धान खेती हुने सबै क्षेत्रमा रोपाइँ सकिएको हो।

यस्तै, कालीकोट, मुगु, डोल्पा र हुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय, सुर्खेतका वाली विकास अधिकृत यामबहादुर रानाले जानकारी दिए।
उनकाअनुसार रुकुमपश्चिम र सल्यानमा ७५ प्रतिशत, जाजरकोटमा ७०, दैलेखमा ५५ र सुर्खेतमा ५० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको छ।

कृषि मन्त्रालयकाअनुसार कर्णालीमा २५ लाख २५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन मध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ। ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्षभरि सिँचाइ सुविधा रहेको छ।

यस्तै, ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिँचाइ सुविधा उपलब्ध रहको छ भने अन्य बाँकी जमिनमा आकाशे पानीको भर पर्नुपर्दछ।

तपाईको प्रतिक्रिया