सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पूर्वी सुर्खेतको मेहलकुनाबाट नयाँ सेवा विस्तार गरेको छ। (असार ३०) गते शनिबारदेखि गुर्भाकोट नगरपालिका–७ मेहलकुनाबाट प्रशासन कार्यालयले आफ्नो नयाँ सेवाको सुरुआत गरेको हो।
उप–प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले ईलाका प्रशासन कार्यालय मेहलकुना भवनको उद्घाटन गरेर सेवा विस्तार गरिएको हो। प्रशासनले सेवा विस्तार गरेसगैँ पुर्वी सुर्खेतका नागरिकलाई विभिन्न प्रकारका सिफारिससँगै नागरिकता लिनका लागि सहज भएको छ।
सेवा विस्तारको दिन स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता लिएका छन्।


ईलाका प्रशासन कार्यालयको स्थापना भएसँगै पूर्वी सुर्खेतका भेरीगंगा, सिम्ता, लेखबेशी, गूर्भाकोट लगायतका नागरिकलाई सुर्खेत वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता केही मात्रामा हटेको छ। तर, उनिहरुले राहदानी र राष्ट्रिय परिचय पत्र भने पाउने छैनन्। यी सेवा लिनका लागि वीरेन्द्रनगर नै पुग्नुपर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
प्रशासनका अनुसार सुर्खेत कार्यालयसहित पञ्चपुरी नगरपालिकाको बाबियाचौर र गुर्भाकोटको मेहलकुना गरि तीन ठाउँबाट सेवा दिइरहेकाे छ।

बाबियाचौरमा यस अघीदेखि नै प्रशासनले कार्यालयको स्थापना गरेको थियो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले मेहलकुना र बाबियाचौर प्रशासनबाट नेपाली नागरिकता र विभिन्न तीन किसिमका सिफारिस मात्रै पाइने जानकारी दिए। उनले भने, ‘मेहलकुनामा हामीले तत्कालका लागि सिफारिसहरु र बंशजको आधारमा नागरिकता दिने व्यावस्था गरेका छौँ। राष्ट्रिय परिचय-पत्र र राहदानीका लागि भने वीरेन्द्रनगर नै आउनुपर्ने हुन्छ।’
साथै प्रजिअ सापकोटाले यी दुबै प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार नबनेका कारणले गर्दा सेवाका लागि समस्या भएको र उक्त सेवा प्रदानका लागि पहल भइरहेको जानकारी दिए।
प्रजिअ सापकोटाका अनुसार बाबियाचौर र मेहलकुना ईलाका प्रशासनबाट चालु आर्थिक वर्ष भित्र सबै सेवा पु¥याउनका लागि पहल भइरहेको छ।
यी कार्यालयमा प्रशाकीय अधिकृतको नेतृत्वमा सात/सात जना कर्मचारी कार्यरत रहेका छन्।

नेपाल कर्म । २ श्रावण २०८०, मंगलवार १४:३२