काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच आपसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ।
थाइल्यान्डको राजधानी बैंककमा आज (सोमबार) बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल भएको हो।
छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।

‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीले आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे फलदायी छलफल गरेका छौँ,’ उनले भने, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्र थिए।’

बिम्स्टेक राष्ट्रका विदेश मन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका हुन्। बिम्स्टेकमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यान्मा सदस्य छन्।
बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच ‘साइडलाइन’ वार्ता भएको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री साउद यही साउन २ गते स्वदेश फर्किने कार्यक्रम छ।

नेपाल कर्म । २ श्रावण २०८०, मंगलवार १२:०६