पहिरोले खानेपानीको पाइप बगायो, वीरेन्द्रनगरमा वितरण प्रणाली असन्तुलित

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर ल्याइएकाे खानेपानीकाे मुख्य पाइप लाइनमा पहिराले क्षती पुर्याउँदा वितरण प्रणाली नै असन्तुलित बनेकाे छ ।  वीरेन्द्रनगर खानेपानीको मुख्य स्रोतका रूपमा रहेको झुप्राखोलाबाट पानी प्रशाेधन केन्द्रसम्म ल्याइएकाे पाइप पहिराेले बगाउँदा समस्या थपिएको हाे ।



वीरेन्द्रनगर-१३ भञ्जाङ्गमा गत असार १२ गते  झुप्राखोलाबाट आउने पानीको मुख्य स्रोतकाे पाइप लाइन पहिराेले बगाएकाे छ । शुरूमा पाइप लाइनकाे तलबाट क्षती पुर्याएकाे पहिराे विस्तारै पारेगाउँ जाने सडकसम्मै पुग्न लागेकाे सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले नेपालकर्मलाइ जानकारी दिए ।

उनकाअनुसार ३० मिटरसम्म गएकाे पहिराले पाइपलाइनमा क्षती पुर्याएकाे छ ।  शुरूमा गएकाे पहिराबाट क्षती पुगेकाे पाइपलाइन निर्माण गरे सञ्चालन गरिएकाे थियाे थियाे । तर असार २७ गते पुन बगाएका कारणले अहिले समस्या झन् थपिएको संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् ।

पहिराे गएकाे क्षेत्रमा पुनर्निर्माणका लागि काम जारी रहेपनि वर्षातका कारणा काम गर्न कठिनाइ देखिएकाे संस्थाका इन्जिनियर तिवारी बताउँछन् । पहिराेबाट करिव सात लाखकाे क्षती पुगेकाे छ । रक एङ्करिङ्ग गरेर आरसीसी गरेर पिल्लर उठाएर खानेपानी सुचारु गर्ने प्रयास वर्षातले समस्या निम्त्याइएको तिवारीको भनाई छ ।

पानीकाे मुख्य पाइपलाइन पहिराेले बगाएपछि हाल खरी बाेरी खाेला र डाङ्डुङ्गे खाेलासहितबाट पानी वीरेन्द्रनगरमा आपूर्ती गरिँदै आएको छ । तर आपूर्ती भन्दा माग बढी रहेकाले सिमित थप स्राेतकाे पानी उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नमा कठिनाइ भएकाे छ ।

वीरेन्द्रनगरमा अहिले २० हजार घरधुरीमा खानेपानीको धारा जडान गरिएकाे छ । बढ्दो शहरीकरणका कारण ३६ हजार घरधुरी रहेकाे वीरेन्द्रनगरमा खानेपानीको अभाव बढ्दाे छ ।वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भएपनि अहिले अपुग छ।

झुप्राखोला, खरीखोला बोरीखोला, इत्राम खोला, खोर्के खोलाको मुहानबाट १५३ लिटर प्रतिसेकेन्ड पानी आउने गरेकाे थियाे । दैनिक सबै मुहानबाट ५८ लाख ७५ हजार दुई सय लिटर पानी आपूर्ती भएपनि झुप्रा खोलाकाे पाइपलाइन पहिराले बगाउँदा दैनिक ७४ लाख ३० हजार चारसय लिटर पानी राेकिएकाे छ । तर सबै पानी सुर्खेत उपत्यकामा नआउँदा खानेपानीको अभाव भएको संस्थाका अध्यक्ष देवकोटाले बताए।

‘झुप्राखोलाबाट प्रतिसेकेन्ड ८६ लिटर पानी आउँथ्यो। अहिले त्यो आयोजना पहिरोले पाइप बगाउँदा बन्द रहेकोछ,’ उनले भने,‘अन्य स्रोतबाट आउने पानीले माग धान्न समस्या छ।’  खरीबोरीखोला, इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानी प्रयोग भइरहेको संस्थाका अध्यक्ष देवकाेटाले जानकारी दिए। ‘यी खोलाबाट प्रतिसेकेन्ड १ सय ३६ लिटर मात्र पानी आपूर्ती भइरहेको छ। माग भने प्रतिसेकेन्ड २ सय ७५ लिटर रहेको छ।’ उनले भने, ‘२० हजार धाराहरूमा पानी वितरण गरिएकाे छ।’

विगतमा ५२ हजार घरधुरी लक्षित गरेर खानेपानीको योजना बनेको अहिले वीरेन्द्रनगर बजार क्षेत्रमा झन्डै ३७ हजार घरधुरी रहेको रहेका कारणले खानेपानीको समस्या जटिल बन्दै गएकाे संस्थाका अध्यक्ष देवकोटाले बताए।

वैकल्पिक उपाय खोजिँदै

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ ल्याउने तयारी छ। खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो।

डेढ लाख जनसंंख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो सहरीकरण तथा जनसंख्या कारणले नयाँ भेरी नदीको पानी पम्पिङ गरेर सुर्खेत ल्याउन लागिएको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए।

‘२०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था) ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ। आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन,’ उनले भने, ‘तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको अहिले यो आयोजना ठेक्का प्रक्रियामा गएको छ।’

वीरेन्द्रनगरमा हाल १० वटा स्किम रहेकामा यो योजना निर्माण भए २४ वटा स्किम रहने अध्यक्ष देवकोटाले बताए। ‘अहिले तयार पारेको रिर्पोटअनुसार करिब रु छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘भेरी नदीमा निर्माण हुने ट्यांकीका लागि रु ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रु‍ एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रु चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ।’ उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवकोटाले बताए।

तपाईको प्रतिक्रिया